जिल्ला अस्पताल रोल्पाको आधुनिक भवन बन्दै

Posted on: 19 Jan, 2018

माघ ५, रोल्पा ।  जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् । 

जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना अगाडि बन्न थालेपछि यस्तो सुविधासहित उपचार गर्न पाउने आशा पलाएको हो । २०४१ सालमा निर्माण गरिएको टिनको छाना रहेको सो भवन जीर्ण रहेसँगै बिरामीले त्रासपूर्ण अवस्थामा उपचार गराइरहेका थिए । 


हाल निर्माणाधीन नयाँ भवन बनेपछि अस्पतालले ५० श्ययाको सेवा दिने जिल्ला अस्पताल सञ्चालक समितिका अध्यक्ष टीकाकुमारी बुढा थापाले जानकारी दिनुभयो । 

श्यया थपसँगै विशेषज्ञ सेवा पनि उपलब्ध हुने भएकाले सामान्य शल्यक्रियाका लागिसमेत जिल्ला बाहिर जानुपर्ने समस्याबाट जिल्लावासी मुक्त हुने थापाले बताउनुभयो । 

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहेको सो भवनको लागत भ्याटसहित करिब रु ३५ करोड र भ्याटबाहेकको रकम करिब रु २९ करोडको रहेको अध्यक्ष थापाले बताउनुभयो । 

हाल विशेषज्ञ डाक्टर नभएको जिल्ला अस्पतालमा नयाँ भवन बनेसँगै विशेषज्ञ सेवा प्रदान गरिने जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले जानकारी दिनुभयो । श्यया थपसँगै प्रविधि र जनशक्ति पनि थपिने भएकाले जिल्ला अस्पतालको सेवा पनि विस्तार हुने डाँगीले बताउनुभयो । 

हाल १५ श्ययाको सेवा दिइरहेको जिल्ला अस्पताल, रोल्पाको भवन २०४१ सालमा निर्माण गरिएको थियो । भवन पुरानो हुनुका साथै छाना तथा ढोकासमेत गलेका र भित्ता समेत प्वाल परेका छन् । उक्त भवनमा उपचार गराउन आउने बिरामीले असुरक्षित महसुस गर्दै आएका थिए ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!