डडेल्धुरामा पालिकाको भवन बन्न नसक्दा टहरामै अस्थायी कार्यालय

Posted on: 26 Jan, 2018

माघ १२, डडेल्धुरा |  स्थानीय निकायको निर्वाचन सकिएको छ महिनाभन्दा बढी बितिसक्दा पनि डडेल्धुराका धेरै गाउँपालिका टहरामै रहेका छन् भने कतिपय सरकारी कार्यालयले कार्यालय नै स्थापना गर्न सकेका छैनन् । 

कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए तापनि डडेल्धुरामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबै गाउँपालिकालाई कार्यालय स्थापनाका लागि टहरा निर्माण गर्नु परिरहेको निर्वाचित पदाधिकारीको भनाइ रहेको छ । 

आफ्नै कार्यालय पनि सहकारीको भवनमा राखेको भागेश्वर गाउँपालिकाका प्रमुख कौशिला भट्ट भन्छन्, “विषयत कार्यालय र अन्य सरोकारवाला संस्थाका लागि टहरा निर्माणको कार्य अन्तिम चरणमा पुगेको र चाँडै टहरामा नै सबै कार्यालय राख्ने तयारी भइरहेको छ ।” 

एउटै कक्षबाट दुई वा दुईभन्दा बढी कार्यालय राखी सेवा दिँदा प्रभावकारी नहुने सेवाग्राही पनि दुविधामा पर्ने कर्मचारीको भनाइ रहेको छ । कतिपय गाउँपालिकामा कृषि, भेटनरी र अन्य प्रशासनिक काम पनि एकै टेबुलबाट गर्नुपर्ने बाध्यता रहेको जनाएका छन् । 

भवन अभावका कारण नै धेरै सरकारी र गैरसरकारी कार्यालय गाउँपालिकामा स्थापना गर्न नसकिएको र उनीहरुले साविककै कार्यालयबाट सेवा दिइरहेको अजयमेरु गाउँपालिका उपाध्यक्ष कलावती भाणले जनाउनुभयो । यसरी सम्बन्धित पालिकामा नै कार्यालय स्थापना नहुँदा सेवा प्रभावकारी बनाउन नसकिएको सरोकारवाला बताउँछन् । 

भागेश्वर गाउँपालिकाको अस्थायी कार्यालय रहेको बगरकोटमा सरकारी कार्यालय राख्नका लागि उपयुक्त घर निर्माण भएका छैनन् भने बैंकका लागि झनै घर पाउन मुस्किल रहेका बेला जसोतसो पनि बैंक सेवा उपलब्ध गराउनका लागि घरको व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष भट्टको भनाइ छ |रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!