पालुङटार नगरपालिकाद्वारा वार्षिक लक्ष्य भन्दा २१ प्रतिशत बढि राजस्व संकलन

Posted on: 20 Mar, 2018

मनोज पराजुली,चैत्र ६, गोरखा । पालुङटार नगरपालिकाले आर्थिक वर्ष ७४/७५ को पहिलो आठ महिनामा नै राजस्व लक्ष्य पुरा गरेको छ । चालु आर्थिक वर्षमा १ करोड १५ लाख राजस्व लक्ष्य अनुमान गरिएकोमा नगरपालिकाले पहिलो आठ महिनामा नै सो लक्ष्य पुरा गरेको हो । 

चालु आर्थिक वर्षको बितेको आठ महिनामा १ करोड ४० लाख राजस्व संकलन गरिसकिएकोे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द भारतीले जानकारी दिए । नगरपालिकाले संकलन गरेको यो राजस्व रकम वार्षिक लक्ष्य भन्दा २१ प्रतिशत बढि हो । अहिलेकै अनुपातमा राजस्व रकम वृद्धि भएमा चालु आर्थिक वर्षमा राजस्व लक्ष्यभन्दा ५० प्रतिशत बढि रकम संकलन हुने भारतीले बताए । 

नगरपालिकाले आर्थिक वर्ष ७३र७४ को भन्दा ७४/७५ मा ४५ लाखले बढि राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । आन्तरिक श्रोत परिचालन सुदृढ बनाउने लक्ष्य अनुरुप काम गरिएकोले पनि राजस्व संकलनमा टेवा पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र भारतीको भनाई छ । नगरपालिकाले राजस्व संकलनमा सफलता पाएपनि पुजीगत खर्चमा भने कमी देखिएको छ । चालु आठ महिनामा जम्मा ४० प्रतिशत मात्र पुजीगत खर्च भएको उनले बताए । नगरपालिकाले चालु आर्थिक बर्षको लागि ४० करोड ९६ लाख १६ हजार बजेट सीमा तोकेको थियो । 

राजस्वमा ५० प्रतिशत नक्सापासको योगदान

नगरपालिकाको कुल राजस्वमा घरको नक्सापासको योगदान ५० प्रतिशत रहेको पाइएको छ । नगरपालिका भित्र पहिले बनेका घरहरुकोे अनिवार्य रुपमा नक्सा अभिलेखन गर्नुपर्ने र भुकम्प पीडितले घर निर्माणका लागि नक्सा पास गर्नुपर्ने भएका कारण पनि राजस्व लक्ष्य बढेको भारतीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!