राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पाको खदाङबस्ती

Posted on: 09 Apr, 2018

रामचन्द्र न्यौपाने/चैत २६ डोल्पा | विकट हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । 

सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत डोल्पा रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किलोमिटर सडकखण्ड निर्माण कार्य पूरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक सञ्जालमा जोेडिएको हो । 


आइतबार पूर्व शान्तिमन्त्री तथा वर्तमान संघीय सांसद सत्य पहाडीद्वारा त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगाड खदाङ श्रीविण्डे चिप्लेभिर खण्डको नौ किलोमिटर सडकखण्डको विधिवत् उद्घाटन गरिएकोे थियो । 

उक्त सडकखण्डको उद्घाटन गरेसँगै रुकुम डोल्पा सिमाना त्रिवेणी बजारदेखि खदाङसम्म जिप ट्र्याक्टरलगायत यातायातका साधन सञ्चालनमा ल्याइएको छ । 

करोपगाड, खदाङ र श्रीविण्डे हुँदै चिप्लेभिरसम्मको सडक उद्घाटन गरिएसँगै काठमाडाँै नेपालगञ्ज सुर्खेतदेखि खदाङको हरियापानीसम्म यातायातको सुविधा भएको छ । 

सडक उद्घाटन कार्यक्रममा विशेष अतिथिका रुपमा प्रदेश निर्वाचन क्षेत्र ‘ख’का सांसद वीरबहादुर शाही, प्रदेश समानुपातिक सांसद बदमीकँ्वारी बुढा, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा, विभिन्न पार्टीका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो । 

डोल्पा पूर्णरुपमा राष्ट्रिय सडकमा जोडिन तीन किलोमिटरमात्रै 

जाजरकोट–डोल्पा सडकखण्डको कूल लम्बाइ ११७ दशमलव ७ किलोमिटर सडकखण्डमध्ये ११४ दशमलव ७ किलोमिटर सडकखण्डको निर्माण कार्य पूरा भइसकेको र बाँकी तीन किलोमिटर सडक निर्माण भएपछि डोल्पा पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख तथा कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । 

बाँकी तीन किलोमिटर सडकखण्ड भिर, पहरा र चट्टानयुक्त भए पनि आत्मविश्वासका साथ आगामी दशँैमा डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी अहोरात्र सेनाले काम अगाडि बडाएको समेत पहाडीले जानकारी दिनुभयो । 

डोल्पाका मन्त्री, सांसद, सरोकारवाला व्यक्तित्व सम्पूर्ण जनताको सहयोगबाट विशाल भिरपाखा छिचोल्दै जनताको घरआँगनमा सडक पु¥याउन सफल भएको पहाडीले बताउनुभयो । 

सडक समुद्घाटन कार्यक्रममा पूर्व शान्ति मन्त्री सत्य पहाडीले कल्पनै नगरेको भिर खोपेर मोटर कुदाएकामा नेपाली सेनाप्रति डोल्पाली जनता हार्दिक आभारी भएको बताउनुभयो । 

उक्त सडकखण्ड निर्माणका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गरिरहेको र डोल्पा पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिसकेपश्चात् पनि सडकलाई स्थायित्व दिनका लागि निर्माण गर्नुपर्ने पुल, सडक कालोपत्रे गर्नका लागिसमेत अहिलेदेखि नै लागिरहेको बताउनुभएको थियो । 

कार्यक्रममा डोल्पा प्रदेश क्षेत्र नं ‘ख’ का सांसद वीरबहादुर शाहीले डोल्पाको मुख्य विकासको पूर्वाधार सडक भएकाले सडक पुगेसँगै समृद्धिका ढोका पनि विस्तारै खुल्दै गएको बताउनुभयो । 

डोल्पा पर्यटन, जडीबुटीका हिसाबमा सम्पन्न जिल्ला भएकाले यसको दिगो विकास संरक्षण र प्रचारप्रचारका लागि प्रदेश सरकारले विशेष प्याकेज ल्याउनेसमेत बताउनुभयो । 

सोही कार्यक्रममा त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले नगरको समृद्धिको आधार कृषि व्यवसाय भएकाले भोलिका दिनमा मान्छे र सामान बोकेर डोल्पा पुग्ने गाडीलाई टनाटन पारेर फर्काउनका लागि अहिलेदेखि नै स्याउ, ओखर, अंगुरखेतीमा जोड दिएको बताउनुभयो । 

घर आँगनमै मोटर कुदेको देखेपछि खदाङवासीले हर्षका आँशु झारेका थिए । सडक उद्घाटन कार्यक्रमको खुशियाली मनाउन हजारौँ सर्वसाधारणको उपस्थिति थियो । 

सेनाले चरासमेत उड्न नसकेर लड्ने विशाल काला भिर खोतलेर घर आँगनमै गाडी गुडाएकाले स्थानीयवासीले गीत, कविता, चुट्किला, नृत्यमार्फत सेनालाई भगवान्को रुपमा प्रशंसा गरेका थिए । 

डोल्पाको भूभागमा गाडी कुदाउन दिनराज नसुती सेनाले खदाङसम्म गाडी पु¥याएको भन्दै कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीलाई त्रिपुरासुन्दरी नगरपालिका र प्रदेश सरकारको तर्फबाट दोसल्ला र प्रशंसापत्र वितरण गरेर सम्मान गरिएको थियो । 

“खदाङसम्म गाडी पुगेसँगै विभिन्न किसिममा सुविधा आएका छन्, पहिले हप्तौँ लगाएर गर्नुपर्ने नेपालगञ्ज, सुर्खेतको यात्रा पनि अहिले छोटिएर दुई दिनमै झरेको छ”, त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीय कृष्णचन्द्र पाण्डेले बताउनुभयो । खदाङसम्म गाडी गुडेपछि यात्रामा सहजता आउनाका साथै दैनिक उपभोग्य वस्तुको मूल्यसमेत घट्ने भन्दै सर्वसाधारण खुशी भएका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!