रसुवाको विकाससँगै सुरक्षा व्यवस्था थप मजबुत बन्दै

Posted on: 18 Apr, 2018

वैशाख ५, रसुवा (रासस) | सडक सञ्जालले छोएको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बन्दै गएको छ । 

जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पारच्याङ, थाम्बुचेत, डाँडागाउँ, स्याफ्रु, टिमुरे प्रहरीचौकीलाई एक/एक वटा मोटरसाइकल प्रदान गरिएको र गाउँ क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीलाई छिटो छरितो सुरक्षा प्रदान गर्न सहजता आएको छ । 

स्थानीय तहमार्फत अहिले गाउँगाउँमा सडक निर्माणको कार्य भएका कारण प्रहरीचौकीमा सुरक्षा जनशक्ति अपुग भएमा जिल्लास्तरबाट तुरुन्तै थप मद्दत पठाउनसमेत सहज हुँदै गएको बताइएको छ । 

रसुवामा जिल्ला प्रहरी कार्यालय अन्तर्गत ११ प्रहरीचौकी रहेका र जनघनत्व संवेदनशीलतालाई मध्यनजर राखी यथेष्ठ सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । 

पर्यटकीय क्षेत्र लाङटाङ, थुमन र टाकु प्रहरी चौकीमा भने सडक सञ्जालले छुन बाँकी रहेको छ । 

यस्तै, नेपाल–चीन केरुङ व्यापारका लागि बढ्ने सवारी चापलाई छुट्टै सवारी व्यवस्थापनका ट्राफिक एकाइ र लाङटाङ जाने पर्यटकका लागि स्याफ्रुबेँशी र टिमुरे रसुवागढी क्षेत्रमा तैनाथ रहेको र पर्यटक प्रहरीले लाङटाङ तथा गोसाइकुण्ड र तामाङ सम्पदा मार्गमा पदयात्रा गर्ने पर्यटकको सुरक्षामा केन्द्रित रहेको प्रहरी प्रमुख थापाले बताउनुभयो । 

सीमा क्षेत्रको भन्सार एवं अन्तर्राष्ट्रिय सीमा क्षेत्र र निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको सुरक्षामा सशस्त्र प्रहरी बल र लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि नेपाली सेना तैनाथ रहेको सुरक्षा निकायले बताएको छ । 

हाल लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेना कालीजंग गणले वन, वनस्पति, वन्यजन्तु संरक्षणको साथै आवश्यकताअनुसार सामाजिक कार्यमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

यसैगरी, नेपाल–चीनबीचको रसुवागढी नाका क्षेत्रको टिमुरेलगायतका आसपास क्षेत्रमा सिसी क्यामरा जडान भएपछि गैरकानूनी क्रियाकलापको निगरानी राख्न अत्यन्तै सहज भएको र अब सामान जाँच गर्ने उपकरणको व्यवस्था हुन पनि सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!