कर तथा ब्याज मिनाहा हुने

Posted on: 08 Jun, 2018

जेठ २५, विराटनगर | लामो समयदेखि कर नतिरेका र करको दायरामा नआएका व्यवसायीले कर तिरेमा कर शुल्क तथा ब्याज मिनाहा हुने भएको छ । 

आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७१ साल देखि २०७५ पुस मसान्तसम्मको कूल आय तथा त्यसमा लाग्ने कर व्यवसायीले बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने बताइएको छ । 

यसरी तोकिएको समयभित्र शुल्क तथा ब्याज नबुझाएमा पुरानो सबै हिसाब असुलउपर गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । 

आव २०७१÷७२ तथा २०७२÷७३ को आय विवरण र सोमा लाग्ने आयकर २०७५ पुस मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिको विवरण पेश गर्नुपर्ने छैन भने सोमा लाग्ने कर शुल्क तथा ब्याजसमेत मिनाहा हुने सरकारले निर्णय गरेको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ । 

सरकारको यो निर्णयको स्वागत गर्दै खुद्रा व्यापार संघ मोरङका अध्यक्ष संजयकुमारसिंह मण्डलले बाँकी कर तिर्न व्यवसायीलाई आह्वान गर्नुभयो । 

घाटामा गइरहेको व्यवसायीलाई यस निर्णयबाट सहयोग पुग्ने विश्वास उहाँको छ ।(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!