मध्यपहाडी लोकमार्गः दैलेख खण्डको ५० किलोमिटरमा कालोपत्रेका लागि पूर्वाधार तयारी

Posted on: 26 Aug, 2018

हिक्मतबहादुर नेपाली | भदौ १०, दुल्लु, दैलेख | राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेख खण्ड निर्माणको कामले गति लिएको छ । 

लामो समय जग्गा विवादका कारण दैलेख खण्डको मार्ग खोल्नै सकस भएको थियो । विवाद समाधान भएसँगै लोकमार्ग स्तरोन्नतिको काम भइरहेको आयोजनाले जनाएको छ । अहिले दैलेख खण्डको ५० किलोमिटरमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको मध्यपहाडी लोकमार्ग दैलेख खण्डका प्रमुख तुलाराम शर्माले जानकारी दिनुभयो । 

दैलेख खण्डमा अहिले ५० किमी कालोपत्रेका लागि बोलपत्र प्रक्रिया सकेर २० प्रतिशत काम सकिएको छ । दैलेख खण्डको १२६ किमी लम्बाइमध्ये ५० किमी कालोपत्रेका लागि काम भैरहेको छ । बाँकी बोलपत्रका लागि तयारी अवस्थामा रहेको छ । काम भइरहेको ५० किमी कालोपत्रेलाई चार भागमा ठेक्कामार्फत काम भइरहेको शर्माको भनाइ छ । 

चार भागमा विभाजन गरी कालोपत्रेमा लोहोरेदेखि झुप्रेसालसम्म ९.९ किमीमा केएस रमण जेभीले मूअक(भ्याट)बाहेक रु २४ करोड ८४ लाख ३१ हजारमा घटेर ठेक्का लिएको हो । केएस रमणले २०६४ भदौ ३ मा कालोपत्रेका लागि सम्झौता गरेको थियो । यसले आगामी २०७७ भदौ ३ गते काम सक्नुपर्ने छ । आयोजनाका अनुसार अहिलेसम्म ४५ प्रतिशत काम भएको छ । 

यसैगरी झुप्रेसालदेखि मनघरसम्म ११.४ किमीको ठेक्का शर्मा गजुरमुखी जेभीले २०७७ जेठमा सक्ने गरी २०६४ जेठ १४ मासम्झौता गरेको आयोजनाले जनाएको छ । उक्त स्थानमा अहिलेसम्म ४० प्रतिशत काम भएको छ । भ्याटबाहेक ३१ करोड ७२ लाखमा कालेपत्रेको ठेक्का लिएको हो । 

दैलेख पश्चिममा रहेको रामघाट पुलदेखि पादुकासम्म १५.८ किमी सडक कालोपत्रेका लागि पम्पु हाई हिमालयन जेभीले ठेक्का पाएको थियो । विसं २०७४ जेठ १४ गते सम्झौता भई २०७७ जेठ १४मा काम सक्नुपर्ने छ । रु ४२ करोड १० लाखमा उक्त सडकको ठेक्का लिइएको हो । अहिलेसम्म निर्माण कम्पनीले ४० प्रतिशत काम गरेको जनाइएको छ । 

त्यस्तै वडालम्जीदेखि पादुकासम्म केएस रमण जेभीले १३.३ किमीको कालोपत्रेको ठेक्का लिएको मध्यपहाडी आयोजनाले जनाएको छ । गत साल जेठ १४ गते सम्झौता गरेको रमण जेभीले २०७७ जेठ १४ मा कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । रु २६ करोड ९१ लाखमा सम्झौता गरेको निर्माण कम्पनीले अहिलेसम्म २० प्रतिशत काम गरेको छ । पहिलो वर्ष कम्तीमा २० प्रतिशत गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सबैभन्दा कम काम भएको खण्ड नै यही हो । 

अब दैलेख खण्डमा कालोपत्रे सडक निर्माणका लागि ७५.५ किमी बाँकी छ । यो सडकको डिपिआर भइसकेकाले छिट्टै बोलपत्र गरिने आयोजनाले जनाएको छ “तीव्र गतिमा काम भइरहेकाले सबै भागको स्तरोन्नति केही वर्षभित्रै सकिने गरी आयोजना लागिरहेको छ”, दैलेख खण्डका प्रमुख शर्माले भन्नुभयो । 

कालोपत्रे गर्न लागिएको चार खण्डमा सडक चौडाको काम ९० प्रतिशत सकिएको छ । त्यस्तै ग्याविन र मेशनरी वाल लगाउने काम भइरहेको छ । सानातिना खोलामा ह्युपाइपमार्फत पानीको निकास गर्ने काम अन्तिम चरणमा छ । चटान र पहिराका कारण आयोजनालाई दैलेख खण्डको लोहोरेदेखि बेस्तडासम्म जोखिम सडकका रुपमा लिइएको छ । आयोजनाले दैलेख खण्डमा मुआब्जा रु ६० लाख खर्च हुने अनुमान गरेको छ । आयोजनाको काम अघि बढाउँदा ३५ घर भत्काउनुपर्ने देखिएको शर्माले बताउनुभयो । दैलेख सदरमुकाममा १० मिटर मात्रै कालोपत्रे गर्ने सहमति भएको छ । “यस क्षेत्रमा पनि सबै तयारी पूरा भएकाले कालोपत्रेका लागि टेण्डर निकाल्ने प्रक्रियामा छौंँ ”, शर्माले भन्नुभयो । 

सदरमुकाम नजीक जाहारकोटमा सडक खन्न अवरोध भएकाले समन्वय गरेर काम गर्ने तयारीमा रहेको आयोजनाले जनाएको छ । नारायण नगरपालिका वडा नं २ जाहारकोट खण्ड फराकिलो भए पुष्पलाल लोकमार्ग दैलेख खण्डको आयोजना सफल हुने आयोजनाले विश्लेषण गरेको छ । दैलेख खण्डको पूरै भागमा सडक विस्तार भइसकेकाले अब स्तरोन्नतिको काम बाँकी रहेको आयोजनाले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!