गाउँमा सडक पुगेपछि गाउँले नै चालक, गाउँले नै मालिक

Posted on: 29 Nov, 2018

पूर्णप्रसाद न्यौपाने | मङ्सिर १३, ओखलढुंगा | ओखलढुंगाको रगनीका तेजबहादुर बुढाथोकी आजभोली निकै दंग छन् । केही वर्ष अगाडी सम्म सामान्य खेती किसानी गर्ने तेजबहादुर अहिले गाडी मालिक बनेसँगै दंग परेका हुन् । ‘आफु मालिक पनि भईयो, गाउँलेलाई सेवा पनि दिइयो’ बुढाथोकीले भन्छन् ‘मैले त सडकमा सवारी हालेर सेवा दिन थालिसकेँ । गाउँका अरु दाजुभाईलाई पनि समेटेर अघि बढ्ने योजनामा छु ।’ सडक निर्माण र स्थानीयको जागरुकताले व्यवसाय मार्फत सेवा प्रवाहमा आफुहरु जुटेको उनले सुनाए । 

तेजबहादुर बुढाथोकीको अध्यक्षतामा खिजीदेम्बा गाउँका दुई दर्जन स्थानीयले यातायात व्यवसायी संघ गठन गरेर सेवा थालेका छन् । उनिहरुले गाउँकै नाम राखेर लिखुदेम्बा यातायात प्रा.लि दर्ता गरेर व्यवसाय माफर्त सेवा सुरु गरेका हुन् । दुर्गममा सडक पुगेपनि नियमित चल्ने सवारी नहुँदा सडक काम बिहिन भएकाले आफुहरुले सेवा सहितको व्यवसाय गरेर समृद्धिको अभियानमा लागेको खिजीफलाटेका भिमराज सुनुवारले बताए । ‘सडक त बने सवारी चलेनन्’ लिखुदेम्बाका प्रा.लिका सचिव समेत रहेका सुनुवारले भने ‘आफ्नो गाउँ आफैं बनाऔं भनेर गाउँले जुटेर सेवा सहितको व्यवसाय थाल्यौं ।’ ओखलढुंगा र रामेछापका विभिन्न गाउँहरुमा सुविधा सम्पन्न बस मार्फत गुणस्तरीय यात्राको सेवा पुर्याईने उनको भनाई छ । गाउँका स्थानीय मिलेर सवारी सञ्चालन सुरु मात्रै गरेका छैनन् गाउँकै चालकहरुले पनि गाउँमै सेवा दिन थालेका छन् । लिखुदेम्बा यातायातले राजधानीबाट रामेछाप हुँदै ओखलढुंगाको रगनी, खिजीचण्डेश्वरी, खिजीफलाटे, पोकली, गाम्नाङ लगायतका क्षेत्रमा सेवा सुरु गरेको छ । 


सांसदले गरे सेवाको उद्घाटन 

गाउँलेले थालेको सेवा सहितको व्यवसायको विहिबार सांसद यज्ञराज सुनुवारले उद्घाटन गरेका छन् । लिखुदेम्बाको पहिलो साधारण सभा तथा सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सुनुवारले त्यसक्षेत्रका नागरिकले खेलेको भूमिकाले जिल्लाको समृद्धिका लागि टेवा पुग्ने बताए । ‘सडक गाउँ गाउँमा पुगेका मात्रै छैनन् गाउँलेहरु चालक र मालिक बन्न थालेका छन् यो सुखद् कुरा हो ।’ सांसद सुनुवारले भने ‘ग्रामिण सडकको स्तरोन्न्ती र व्यवसायीक विकासका लागि थप पहल हुनेछ ।’ व्यवसायीहरुले हात्तेमालो गरेर सर्वसाधारणलाई सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा ओखलढुंगाका पूर्व सभाषद् रामहरि खतिवडा, रामेछापका पूर्व सांसद देबशंकर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । दुवै पूर्वसांसदहरुले सडकको विकाससँगै स्थानीयहरु समृद्धिको यात्रामा अघि बढेको बताएका थिए । नयाँ व्यवसायीहरुलाई आफुहरुले साथ दिने ओखलढुंगाका पूर्वसभाषद् रामहरि खतिवडाले बताए । ‘सिन्डकेट त अन्त्य भईसकेको भनिएको छ तर पनि नयाँ व्यवसायीलाई पुरानाले हेप्ने चलन छ’ खतिवडाले भने ‘कसैले असहयोग गरे हामीलाई भन्नुस् आवश्यक परेको ठाँउमा हामी सहयोग गछौं ।’ रामेछापका नेता पौडेलले ओखलढुंगाको विकास र त्यसक्षेत्रको समृद्धिका लागि आफुहरुको सहयोग रहने बताए । 

ओखलढुंगाका दुर्गम गाउँहरुमा सुविधा सम्पन्न बसले सेवा दिन थालेपछि स्थानीय दंग परेका छन् । केही वर्ष अगाडी सम्म पूर्वको कर्णाली भनेर चिनिने खिजीदेम्बा र लिखु गाउँपालिकाको क्षेत्रमा सडक निर्माण भएसँगै सुविधा सम्पन्न सवारीमा यात्रा गर्न पाउँदा स्थानीय खुसी भएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!