२९ लाख चन्दा सङ्कलन गरी मन्दिर पुनःनिर्माण

Posted on: 07 Mar, 2019

फागुन २३, गोरखा । शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सन्तानेश्वर महादेव मन्दिर चन्दा सङ्कलन गरी निर्माण गरिएको छ । 

भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको उक्त मन्दिर त्यहाँका युवाले रु २९ लाख चन्दा सङ्कलन गरी निर्माण गरेको स्थानीयवासी उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त मन्दिर निर्माणका लागि कसैले पनि चासो नदिएकाले स्थानीय युवाले एक समिति गठन गरी रकम सङ्कलन अभियान सञ्चालन गरेका थिए । “सो अभियानमा स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट रु २९ लाख सङ्कलन भयो” उहाँले भन्नुभयो, “गाउँपालिकाले पनि पुनःनिर्माणका लागि रु १० लाख प्रदान गरेकाले मन्दिर निर्माण गर्न सजिलो भयो ।” 

विसं २०७४ कात्तिकदेखि सामाजिक सञ्जाल (फेसबुक)देखि सो अभियान सञ्चालन शुरु गरिएको र मन्दिर १७ महीनामा निर्माण गरिएको वडाध्यक्ष काशीनाथ अम्गाईंले जानकारी दिनुभयो । पुनःनिर्माण पछि पूजाआजा पनि शुरु गरिएको उहाँको भनाइ थियो । 

मन्दिर पुनःनिर्माणका लागि कूल रु ४५ लाख खर्च भएकाले अझै थप रु छ लाख अपुग भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “करीब रु छ लाख जति अपुग रकम मन्दिरमा आउने श्रद्धालु भक्तजनले चढाउने भेटी सङ्कलन गर्ने तयारी गरेका छौँ ।” 

निर्मित मन्दिरको चारैतिर ढोका हालेर राखिएको छ भने मन्दिरको छानामा तामाको जलप लगाई भकिझकाउ पारिएको छ । मन्दिर पुनःनिर्माणसँगै प्रचार–प्रसार पनि गरेर त्यहाँ धार्मिक पर्यटक भित्र्याउने लक्ष्य आफूहरुको रहेको मन्दिर निर्माण समितिका संयोजक राजनबाबु श्रेष्ठले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!