पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन

Posted on: 19 Apr, 2019

सुशीला रेग्मी | वैशाख ६, बेझाड (रासस) | पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा दुई वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न हुँदैछ ।

निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम लगभग अन्तिम चरणमा पुगेको छ । रु एक करोड २४ लाखको लागतमा लोकप्रिय कन्स्ट्रक्सन प्रालिसँग २०६८ चैत ९ गते सम्झौता भए पनि ठेकेदारले काममा चासो नदिँदा ढिलाइ हुन पुगेको हो । स्वास्थ्य चौकी भवनको अहिलेसम्म ९५ प्रतिशत काम सकिइसकेको छ । 

निस्दीकै वडा नं ७ मा झिरुवास स्वास्थ्य चौकीको भवन निर्माणाधीन अवस्थामा छ । विसं २०७३ असार २६ गते बासुरी सुनील समिर जेभी कन्स्ट्रक्सन प्रालिसँग रु एक करोड ३९ लाखको लागतमा निर्माण गर्ने गरी सम्झौता भएको हो । अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । तोकिएको समयमै काम सम्पन्न नभएपछि ठेकेदार कम्पनी म्याद थप्ने प्रक्रियामा छ ।

माथागढी गाउँपालिकामा भण्डारा थोतुङ्ग जेभी कन्स्ट्रक्सन प्रालिमार्फत रहवास स्वास्थ्य चौकीको भवन बनिरहेको छ । रु एक करोड ६० लाखको लागतमा २०७६ मङ्सिर २९ गते सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको छ । यसको अहिलेसम्मको प्रगति दश प्रतिशत मात्रै रहेको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय प्रदेश नं ५ रुपन्देहीका प्रमुख इन्जिनीयर धु्रव पौडेलले जानकारी दिनुभयो ।  

उहाँका अनुसार माथागढीमा एक करोड ४७ लाखको लागतमा बरुण/कर्मचारी कन्स्ट्रक्सन जेभी पं्रालिमार्फत चिदिपानी स्वास्थ्य चौकीको भवन निर्माण भइरहेको छ । विसं २०७५ चैत १९ गते सम्पन्न गर्ने सम्झौता भएको यस चौकीको निर्माण कार्य अहिलेसम्म ९८ प्रतिशत काम सकिइसकेको छ ।

रम्भा गाउँपालिकामा भण्डारा थोतुङ्ग जेभी कन्स्ट्रक्सन प्रालिमार्फत रु एक करोड ५२ लाखको लागतमा दुई तले हुमिन स्वास्थ्य चौकीको भवन बन्दैछ । दुई तले स्वास्थ्य चौकीको भवन १८ महिनाको म्यादभित्र नबनेपछि पुनः म्याद थप गरी काम थालिएको छ । यस भवनको अहिलेसम्म भौतिक प्रगति ६० प्रतिशत छ ।

तानसेन नगरपालिका–१० मा कालिञ्चोक कन्स्ट्रक्सन प्रालिमार्फत  २०७७ भदौ १३ गतेभित्र काम सम्पन्न गर्ने गरी रु एक करोड ३९ लाखको लागतमा दुई तले तेल्घा स्वास्थ्य चौकीको भवन निर्माण कार्य अघि बढेको छ । रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन निर्माण भइरहेको छ । हाल १५ शय्या क्षमतामा सञ्चालित रामपुर अस्पतालको क्षमता बढाएर ५० शय्या पुर्यादैछ ।  

जिल्ला सदरमुकाम तानसेनदेखि करीव ६५ किलोमिटर रहेको यो अस्पताल भवन एकामा रविना कन्स्ट्रक्सन प्रालि काठमाडौँबाट करीव साढे १८ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । आव २०७२/७३ को पुसबाट निर्माण थालिएको भवनको अहिलेसम्म ४२ प्रतिशत काम सम्पन्न भएको छ । 

बगनासकालीमा भण्डारा थोतुङ्ग जेभी कन्स्ट्रक्सन प्रालिमार्फत रु एक करोड ४१ लाखको लागतमा दर्लमडाँडा स्वास्थ्य चौकीको भवन २०७४ असोज २४ गतेदेखि बनिरहेको छ ।  

बगनासकालीमै रु एक करोड ४२ लाखको लागतमा भण्डारा थोतुङ्ग जेभी कन्स्ट्रक्सन प्रालिमार्फत यम्घा स्वास्थ्य चौकीको भवन पनि बनिरहेको छ । भवनको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सकिएको छ ।

तिनाऊ गाउँपालिकामा रु एक करोड ३७ लाखको लागतमा इको विल्डर्स कम्पनीमार्फत दुईतले कचल स्वास्थ्य चौकीको भवन निर्माण भइरहेको छ भने पूर्वखोला गाउँपालिकामा रिङ्नेरह स्वास्थ्य चौकीको निर्माण कार्य सकिएको छ ।

तानसेन नगरपालिकामा रु एक करोड ३७ लाखको लागतमा बरुण कन्स्ट्रक्सन प्रालिमार्फत बौघागुम्बा स्वास्थ्य चौकीको भवन आव २०७५÷७६ मा नै निर्माण सकिएको छ । निर्माणाधीन भवन निरन्तर अनुगमन गर्ने कार्य भइरहेको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय प्रदेश नं ५ रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेयले बताउनुभयो ।  

स्वास्थ्योपचारमा सहजता ल्याउन जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य संस्थाका भवन बनाउने कामलाई तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।

रिब्दिकोट गाउँपालिका–२ को खस्यौली स्वास्थ्य चौकीमा ४०० परिवारका लागि नर्सिङ् आवासीय भवन बन्दैछ । कर्मचारी कन्ट्रक्सन प्रालिमार्फत रु ९८ लाखको लागतमा बनिरहेको यस भवनको अहिलेसम्म ९५ प्रतिशत काम सकिएको छ ।

त्यस्तै रम्भा गाउँपालिकाको बिरकोट र रिब्दिकोट गाउँपालिकाको पालुङ्गमैनादीमा आयुर्वेदिक औषधालयको भवन निर्माणार्थ टेण्डर आह्वान भएको छ । रामपुर नगरपालिकामा पनि १५ शय्याको आयुर्वेदिक औषधालयको भवन बनाउन लागत अनुमान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!