१३ लाखभन्दा बढी राजश्व सङ्कलन

Posted on: 05 May, 2019

वैशाख २२, जुम्ला | जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७४/७५ को भन्दा चालू आवमा राजश्व सङ्कलन बढी गरेको छ । २०७४÷७५ मा राजश्व सङ्कलन रु १२ लाख ५९ हजार ५०० भएकामा चालू आवको चैतसम्म रु १३ लाख ४० हजार ५०० राजश्व सङ्कलन गरेको हो । सवारीसाधान कारवाहीबाट प्रहरीले उक्त राजश्व सङ्कलन गरेको हो । ट्राफिक नियमको पालना नगर्ने साना र ठूला सवारीलाई जाँच गरी कारवाहीबाट राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफीक प्रहरी कार्यालय जुम्लाले जनाएको हो ।

गत आर्थिक वर्षमा एक हजार ८६३ सवारीसाधन कारवाहीमा परेका थिए । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल ५९९ र सबैभन्दा कम ट्र्याक्टर ११६ कारवाहीमा परेका थिए । चालू आवको चैतसम्म एक हजार ९९३ सवारीसाधन कारवाहीमा परेका छन् । पछिल्लो समय दिनहँुजसो छड्के चेकिङ र ट्राफिकको सक्रियताका कारण दुर्घटनामा समेत कमी आउन थालेको छ ।

प्रायःजसो सवारीसाधन अनुमतिपत्र लाइसेन्स नभई सवारीसाधन चलाउने कारवाहीमा परेका छन् । त्यस्तै क्षमताभन्दा बढी सामान तथा यात्रु बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालकलाई कारवाही गरिएको प्रहरीले जनाएको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो सक्रियता बढाउनको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत थालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!