एक मेगावाट विद्युत् आयोजना शिलान्यास

Posted on: 28 Jun, 2019

असार १३, जुम्ला | पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाट विद्युत् उत्पादनका लागि  शिलान्यास गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र स्थानीयवासीको सेयर लगानीमा शुरु भएको उक्त आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले शिलान्यास गर्नुभएको छ । 

पातारासी १ गढिगाउँबाट उत्पादन हुने उक्त आयोजनाको शिलान्यास गर्दै मन्त्री भण्डारीले जनता आफँै मालिक भएर सञ्चालित पहिलो ठूलो जुम्लाको आयोजनाले पूरै जुम्लालाई उज्यालो दिने अपेक्षा गरिएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहराले पातारासीको ठूलो योजना चाँडै सम्पन्न गर्न गाउँपालिकाको दायित्व रहेको बताउनुभयो । 

चुकेनी सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले आयोजना चाँडै सम्पन्न गरी चाँडै उज्यालो हुने गरी काम अगाडि बढाइने बताउनुभयो । उहाँका अनुसार  ऊर्जा प्रवद्र्धन केन्द्रको रु २८ करोड, स्थानीयवासीको शेयर रु दुई करोड ५० लाख, गाउँपालिकाको रु एक करोड र प्रदेस सरकारको रु एक करोड लगानीसहित रु ४६ करोड लगानीमा आयोजना शुरु भएको छ । 

निर्माणको जिम्मेवारी भने फेवा कन्सल्टेन्स बुटवलले  पाएको  नवीकरणीय उर्जाका लागि जीविकोपार्जन फिल्ड संयोजक पृथ्वी शाहीले बताउनुभयो । उहाँले १८ महिनामा काम सकिने गरी निर्माण शुरु गरिने जानकारी दिनुभयो । 

विसं २०६९ वैशाखमा प्रयास गरिएको उक्त आयोजना रकम अभावका कारण रोकिएको थियो ।  एशियाली विकास बंैकले पनि रु तीन करोड ऋण दिने बताइएको छ  । अघिल्लो बिहीबार बोलपत्र आह्वान भएको उक्त आयोजनाबाट सन् २०२१ सम्म बिजुली बालिसक्नुपर्नेछ । 

उक्त आयोजनाको शिलान्यास कार्यक्रममा बुधबार सयौँ स्थानीयवासीकोे भीड लागेको थियो । जुम्लाको सदरमुकाम खलङ्गामा साना जलविद्युत् आयोजनाबाट ४० वर्ष अगाडि २२० किलोवाट उत्पादन भएको बत्ती तीव्र जनसङ्ख्या र बजारीकरण भएपछि जुम्ला सदरमुकाममा अहिले सकस छ ।  पातारासी गाउँपालिका जडिबुटीको भण्डारण क्षेत्र मानिन्छ । यहाँ यार्सा, पाँचआँैले, भुल्ते, खिरौलासहित दर्जनौँ प्रकारका जडिबुटी उत्पादन भए पनि बिजुली अभावका कारण प्रशोधन केन्द्र स्थापना हुन तथा ठूला व्यापारीबाट लगानी गर्न सकिएको अवस्था छैन । अब भने जडिबुटि प्रशोधन केन्द्र शुरु गर्न सकिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकहादुर बुढ्थापाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!