आइसोलेशन सेण्टरको अभाव

Posted on: 24 May, 2020

जेठ ११, परासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आवश्यकतानुसारको आइसोलेशन सेन्टर स्थापना  हुन नसक्दा थप जोखिम बढ्ने देखिएको छ  । जिल्लाको बर्दघाट नगरपालिकाअन्तर्गत शहीद स्मृति सामुदायिक अस्पतालमा मात्र चार शय्याको आइसोलेशन वार्ड छ । यसअघि पृथ्वीचन्द्र अस्पतालमा रहेको १० शय्याको आइसोलेशन वार्ड हटाइएपछि झन् समस्या देखापरेको हो ।  

सो अस्पतालमा अन्य  सेवा प्रवाहमा समस्या देखिने भएकाले प्रदेश सरकारको समन्वयमा आइसोलेशन वार्ड हटाइएको अस्पतालका प्रमुख डा मोहम्मदनुरुल होदाले जानकारी दिनुभयो  ।  जिल्लाका विभिन्न स्थानमा आइसोलेशन व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जिल्लास्तरीय कोभिड नियन्त्रण समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद रायले जानकारी दिनुभयो  । 

प्रदेश सरकारले तराईका सबै जिल्लामा २०० शय्याको आइसोलेशन सेन्टर व्यवस्थापन गर्ने जनाए पनि जिल्लामा हालसम्म शहीद स्मृति सामुदायिक अस्पतालमा मात्र चार शय्याको आइसोलेशन अस्पताल रहेको छ । 

पछिल्लो पटक  जिल्लामा फेला परेका पाँच कोरोना सङ्क्रमितमध्ये  रामग्राम नगरपालिकामा फेला परेका दुई सङ्क्रमित तीन दिनदेखि क्वारेन्टिनमा बस्दै आएका छन् ।  पृथ्वीचन्द्र अस्पतालमा भएको  आइसोलेशन बेड हटाइएपछि  प्रदेश सरकारले स्थापना गरेको आइसोलेशन सेन्टरमा बेड खाली नभएकाले दुई  सङ्क्रमित हालसम्म परासीस्थित आदर्श माविको क्वारेन्टिनमा बसेका छन् । 

जिल्लामा हालसम्म एक १५ वर्षीष किशोरीसहित पाँच जना कोरोना सङ्क्रमित फेला परेका छन् । तिनमा रामग्राम नगरपालिका –३ घोडपालिकाका ३३ वर्षीय पुरुष र  वडा नं १८ पम्फापुरकी १५ वर्षीया किशोरी,  सुस्ता गाउँपालिका–५का ३५ र २६ वर्षीय गरी दुई पुरुष  तथा प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौलीका एक ३६ वर्षीय पुरुष छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!