पोखरा महानगरमा १९ किमी सडक कालोपत्रे, ७० किमी ग्राबेल

Posted on: 29 Jun, 2020

असार १५, कास्की। भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ मा महानगरभित्र १९ किमी सडक कालोपत्रे गरिएको जनाएको छ । महानगर प्रमुख मानबहादुर जिसीले पूर्वाधार विकासतर्फ पहिलो प्राथमिकताका सडक र समपुरक अनुदान बजेटबाट गरी १९ किमी सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो प्राथमिकताका १२ सडकमा १३ किमी सडक कालोपत्रे र ६० किमी बाटो ग्राबेल भएको छ । त्यसैगरी समपूरक अनुदान बजेटबाट १० किमी ग्राबेल र छ किमी कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।

चालु वर्षमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको महानगरले विभिन्न सडकलाई प्राथमिकताका आधारमा विभाजन गरेको थियो । हालसम्म ७० किमी ग्राभेल, नौ दशमलव ११ किमी बाटो ढलान, १२ किमी बाटो स्तरोन्नति, तीन दशमलव पाँच किमी नाला निर्माण, ४१ दशमलव पाँच किमी खानेपानी पाइपलाइन विस्तार गरिएको महानगरले जनाएको छ ।

त्यसैगरी ‘मेयर नमूना सडक’ अन्तर्गत वडा नं १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ) सडक र वडा नम्बर १० को राममार्ग सडक निमार्ण भइरहेको बताएको छ । महानगरले पहिलो प्राथमिकतामा राखेका सडकलाई चालु वर्षमा रु ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन गरी यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखेको थियो । ती सडकमा हालसम्म ६० प्रतिशत भौतिक र ४८ दशमलव छ प्रतिशत वित्तीय प्रगति भएको बताइन्छ ।

मुख्य शहरी सडकको स्तरोनन्ति गर्ने क्रममा महानगर, पूर्वाधार कार्यालय कास्की र सडक विभागसँगको सहकार्यमा रु ४० करोड लागतमा ‘अस्फाल्ट कङ्क्रिट’ गर्नका लागि आवश्यक प्रक्रिया सम्पन्न भएर काम शुरु हुने चरणमा रहेको बताइन्छ । आव २०७६/७७ मा आठवटा मोटरेबल पुलमध्ये वडा नं १६ को घोरकुना मोटरेबल, वडा नं १९ को भोटीखोला मोटरेबल पुल सम्पन्नको चरणमा पुगेका र अन्य पुलको भूमिगत संरचना तयार भएको छ ।

सिर्जना चोकस्थित आकाशे पुलको फाउन्डेसनको काम सम्पन्न भई स्टिल फ्रेब्रिकेसनको काम भइरहेको महानगरले जनाएको छ । भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै प्राविधिक व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि आफ्नै गुणस्तर मापन प्रयोगशाला सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । रासस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!