यार्सा ट्रेलको काम जारी, पर्यटन पूर्वाधारको विकास गर्ने उद्देश्य

Posted on: 11 Jul, 2020

असार २७, रुकुमपूर्व। रुकुम (पूर्व) पुथाउत्तरगङ्गा गाउँपालिका –१ मैकोटमा यार्सा ट्रेलको काम अघि बढाइएको छ । आर्थिक वर्ष सकिनै लाग्दा यार्सा पदमार्गको कामलाई तीव्रता दिइएको हो । 

तत्कालीन सशस्त्र द्वन्द्वका बेला छापामार हिँडेको बाटो र तिनले तालीम लिएको ठाउँलाई पर्यटन पूर्वाधारको विकास गर्ने उद्देश्यले मैकोटमा यार्सा ट्रेलको विकास गर्न लागिएको छ ।  गाउँपालिकामा बहुमूल्य यार्सागुम्बालगायत जडिबुटी पाइने हुनाले पनि त्यस क्षेत्रमा यार्सा ट्रेलको विकास गरिँदै छ । 

चालु आवमा प्रदेश नं ५ उद्योेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु २५ लाख बजेटबाट एक हजार ५४३ मिटरमा काम गर्नुपर्ने वडा नम्बर १ का वडाध्यक्ष मकरबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले  ८० प्रतिशत काम सकिएको छ । बाँकी २० प्रतिशतको काम भइरहेको छ । 

मैकोटको चितुबाङ भन्ने ठाउँलाई जिरो प्वाइन्ट मानी यार्सा ट्रेल निर्माण गरिँदै छ । वडाध्यक्ष गुरुङका अनुसार चितुबाङबाट शुरु भएको पदमार्ग कोइजो डाँडा, कोयधारा, गर, उया हुँदै पिरियोर डाँडामा पुग्ने छ । त्यस ठाउँबाट पनि यस मार्गलाई अगाडि बढाएर फोक्सुण्डो हँुदै मुगुको रारा जोड्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।  

यार्सा पदमार्ग निर्माणको काम सकिएसँगै यसबाट मैकोटको पर्यटन क्षेत्रको विकास गर्न सकिने बताइएको छ । अहिले एक हजार ५४३ मिटरमा मात्र काम हुने र बाँकी प्रदेश सरकारको क्रमागत बजेटबाट आउँदो आवमा गरिने वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । पुथाउत्तरगङ्गा –१ र २ मा यस्ता थुप्रै खालका पर्यटकीय गन्तव्य भए पनि पूर्वाधारको विकास र प्रचारप्रसार नहुँदा पर्यटन क्षेत्रमा विकास र लाभ लिन नसकिएको स्थानीयवासीले बताएका छन् । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!