असारमा मार्सी धान गोडमेलको चटारो

Posted on: 13 Jul, 2020

असार २९, जुम्ला । रोपाइँ गरेको महिना दिनपछि जुम्लामा अहिले मार्सी धान गोडमेलको चटारो चलेको छ । यहाँको सिञ्जा, पानसय भेग, बजार र गुठीचौरमा अहिले मार्सी धान गोड्न कृषकलाई भ्याइनभ्याइ छ । धान खेतीको मौसमअनुसार असारमा गोड्न शुरु गरिने यहाँको धान अहिले गोडिएको हो ।

कोरोनाका कारण उत्साह नभए पनि बन्दाबन्दीको पालना गर्दै यस वर्षको रोपाइँ सम्पन्न गरेका किसानले अहिले गोडमेलको कामलाई दैनिक खेतमा बिताइरहेका देखिन्छन् । यस समयमा महिलाले गोडमेल गर्ने र पुरुषले खेत छाल्ने काम गर्छन् । मार्सी धान गोड्न निकै मेहनत लाग्ने किसानले बताएका छन् । धानबाहेकका सबै झारपात उखेलेर फाल्नुपर्ने भएकाले निकै सङ्घर्ष हुने गरेको किसानले बताएका छन् ।

अन्य बालीभन्दा धानमा बढी नै दुःख गर्नुपर्ने भएको चन्दननाथ नगरपालिका–३ का धनबहादुर बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बेर्ना राख्नेदेखि गोडमेल र धान भित्र्याउँदासम्म मार्सीलाई अन्य धानभन्दा बढी स्याहारको आवश्यकता हुन्छ । जिल्लाको तातोपानी गाउँपालिकामा रहेको लाछु ज्यूलोमा पनि अहिले किसान मार्सी गोड्न व्यस्त छन् । बाह्रौँ शताब्दीमा मार्सी धान सबैभन्दा पहिले रोपिएको सो ज्यूलामा निकै राम्रो धान उत्पादन हुने गरेको छ । यसैगरी सिञ्जा क्षेत्रमा पनि प्रशस्तै मार्सी धान उत्पादन हुने गरेको छ ।

पछिल्लो समयमा ब्लास्ट रोगले हैरान बनाएकाले धान धेरै मात्रामा खेर जानेसमेत गरेको पाइन्छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरेदेखि खेतमा औषधि हाल्नसमेत रोक लगाइएको बताउनुुभयो । “प्राङ्गारिक जिल्लाको पूर्वाधार तयार गर्ने कार्यक्रम अबको आवश्यकता हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार जुम्लामा एक हजार ३०० हेक्टर जमीनमा मार्सी धान रोपिने गरेको छ ।

यता कृषि अनुसन्धान कार्यालयले मार्सी धान रोगले जोगाउन कठिन भएकाले मार्सीको विकल्पमा चन्दननाथ–१ नामक धानसमेत अनुसन्धान गरी रोप्न शुरु गरिएको जानकारी दिएको छ । पछिल्लो समयमा चन्दननाथ १ को खेती विस्तार भइरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!