आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

Posted on: 17 Jul, 2020

साउन २, सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा बिहीबारदेखि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्र र उपप्रमुख निरु पोखरेलले बिहीबार संयुक्तरुपमा उद्घाटन गर्नु भएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो । घर भाडामा लिई सञ्चालनमा ल्याइएको स्वास्थ्य केन्द्रमा हाल हेल्थ असिस्टेन्ट, नर्सिङ स्टाफ र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी रहने छन् । 

नगरपालिकाको १२ वडामध्ये स्वास्थ्य संस्थाविहीन वडा नम्बर २ र ९ मा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले बरमझियामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख मिश्रले बताउनुभयो । नगर प्रमुख मिश्रका अनुसार एक साताभित्र वडा नम्बर ९ मा पनि स्वास्थ्य केन्द्र सञ्चालन गरिनेछ ।  उद्घाटनका अवसरमा नगर प्रमुख मिश्रले आफ्नै कार्यकालमा केन्द्रका लागि भवन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य क्षेत्रमा छ महिनाभित्रै देखिने गरी काम गर्ने उहाँले घोषणा गर्नुभयो ।

नगरपालिकाले स्वास्थ्य, शिक्षालगायत आधारभूत विषयलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको जानकारी दिनुहुँदै नगर प्रमुख मिश्रले हात्तीलगायत जङ्गली जनावर नियन्त्रणमा पनि प्रभावकारी काम गरिने बताउनुभयो । उपप्रमुख पोखरेलले तीन कट्ठा जग्गा उपलब्ध भएमा आर्थिक वर्षदेखि स्वास्थ्य केन्द्रको भवन निमार्णको काम शुरु गरिने बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर सञ्जीव झाले नगरपालिकाको स्वास्थ्य अवस्थाबारे सर्वसाधारणलाई जानकारी गराउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!