टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालकलाई स्वास्थ्य प्रोटोकल प्रशिक्षण

Posted on: 12 Aug, 2020

साउन २८, पोखरा । कोभिड –१९ जोखिमका  समयमा पनि सञ्चालनको तयारीमा जुटेका टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालकलाई नेपाल टुर एण्ड ट्राभल्स एसोसिएशन (नाट्टा) गण्डकीले स्वास्थ्य सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण दिएको छ । नाट्टा गण्डकीको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सञ्चालित तालीमलाई तीन चरणमा विभाजन गरेर १२० जनालाई सहभागी गराइएको संस्थाका महासचिव कमला गिरीले जानकारी दिनुभयो ।

बन्दाबन्दी खुलेसँगै सञ्चालनको तयारीमा जुटेका सञ्चालकलाई नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलसम्बन्धी विधि र प्रक्रियाका बारेमा जानकारी दिन तालीमको आयोजना गरिएको संयोजक एवं सचिव सङ्गीता पौडेलले जानकारी दिनुभयो । प्रशिक्षणमा सम्बन्धित क्षेत्रका व्यवसायीलाई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्मा र विश्व स्वास्थ्य सङ्गठनका गण्डकी प्रदेशका प्रतिनिधि डा राजीव लालचनले स्वास्थ्य सचेतनासम्बन्धी प्र्रशिक्षण दिनुभएको थियो  भने पर्यटन व्यवसायी समिर बरालले  कोभिड– १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावका बारेमा प्रस्तुति राख्नुभएको थियो ।  

संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले पर्यटन क्षेत्रसम्बद्ध टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालक र कर्मचारीलाई प्रदान गरिएको स्वास्थ्य प्रोटोकलसम्बन्धी सचेतनाले कोरोनाको जोखिम न्यूनीकरणमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँका अनुसार हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् ।  त्यस्तै ट्राभल्स एजेन्सीमा एक हजार १२ तथा यातायाततर्फ ६५३ जनाले रोजगारी प्राप्त गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!