सिटिजन्स बैंकको नाफा घट्यो

Posted on: 13 Aug, 2020

साउन २९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंक प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा १ अर्ब रुपैयाँ भन्दा बढी थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत बढेर २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३०।७४ प्रतिशत घटेर १ अर्ब ४५ करोड ४७ लाख रुपैयाँमा झरेको छ।

असार मसान्तसम्ममा बैंकले ८८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। बैंकको निष्क्रिय कर्जा १.१३ प्रतिशतबाट बढेर १.४६ प्रतिशत पुगेको छ। त्यसैगरी, बैंकको इम्पेरिमेन्ट चार्ज ६७ करोड ७२ लाख रुपैयाँ रहेको छ।

९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको असार मसान्तमा १२ रुपैयाँ २७ पैसा कायम भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!