मोरङमा ४१ अर्ब राजस्व सङ्कलन

Posted on: 18 Aug, 2020

भदौ २, विराटनगर । मोरङमा आर्थिक वर्ष २०७६/७७ मा कूल रु ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।  यो राजस्व आव २०७५/७६ को भन्दा रु छ अर्ब २० करोड ५८ लाखले कम हो भने आर्थिक वर्ष २०७४/७५ को भन्दा रु ६३ करोड ३६ लाखले बढी हो । आव २०७५/७६ मा कूल रु ४७ अर्व २४ करो ३४ लाख र आव २०७४/७५ मा  रु ४० अर्ब ४० करोड ४० लाख राजस्व सङ्कलन भएको थियो ।

गएको आवमा चैत महिनाको ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले आर्थिक क्रियाकलाप ठप्प हुनु, निर्माणको कार्य रोकिनु, बजार बन्द रहनुले पनि राजस्व कम उठेको प्रमुख पर्शुराम नेपालले जानकारी दिनुभयो । उहाँले गएको वर्षमा पूँजीगत बजेट रु तीन अर्ब ९४ करोड ५६ लाखमा रु तीन अर्ब १३ करोड ८७ लाख अर्थात् ७९ दशमलव पाँच प्रतिशत खर्च भएको जानकारी दिनुभयो । सोही वर्ष चालूतर्फ रु ३१ अर्ब ८० करोड १५ लाख  बजेटमध्ये रु ३१ अर्ब १३ करोड २२ लाख खर्च भएको बताइएको छ ।

आवमा २०७५/७६ मा कूल रु ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा रु २९ अर्ब ४४ करोड २१ लाख निकासा भएको थियो । पूँजीगततर्फ रु चार अर्ब ७५ करोड ३० लाख वार्षिक बजेटमा रु तीन अर्ब ५७ करोड ७८ लाख निकासा भएर ७५ प्रतिशत प्रगति हासिल गरेको थियो भने सोही अवधिमा चालू र पूँजीगत गरी कूल रु ३५ अर्ब ६० करोड पाँच लाखमा रु ३३ अर्ब एक करोड ९९ लाख निकासा भई ९३ प्रतिशत प्रगति हासिल भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!