प्युठानमा व्यावसायिक सुन्तला खेतीः बजारीकरणको माग

Posted on: 06 Sep, 2020

भदौ २१, झिमरुक । प्युठानको झिमरुक गाउँपालिका –७ तुषारामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । यहाँका किसानले परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गर्न थालेका छन् । 

 हावापानीका हिसाबले उपयुक्त तुषारामा करीब ५०  किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । घरपरिवारमा खानका लागि करीब एक सय परिवारले सुन्तलाका बोट लगाए पनि केहीले व्यावसायिक खेती शुरु गरेको सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष मोहन जिसीले बताउनुभयो । 

व्यावसायिक रुपमा सुन्तला खेतीलाई बढावा दिन २५  किसानको समूह गठन गरिएको छ । जिसीका बारीमा हाल सानाठूला गरी सुन्तलाका १५६ बोट छन् । अघिल्लो आर्थिक वर्षमा रु एक लाख १० हजार बराबरको सुन्तला बिक्रीसमेत गरिएको उहाँले बताउनुभयो । यस क्षेत्रका किसानले याममा रु २० देखि ३० हजारसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । रोग तथा कीराबाट बचाउन सक्ने हो भने सुन्तलाले राम्रो उत्पादन दिने उहाँको भनाइ छ । 

यसपूर्व प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बगैँचा व्यवस्थापन  र नयाँ बेर्ना लगाउन प्रोत्साहन गरिएपछि सुन्तला खेतीतर्फ किसान थप आकर्षित भएको अध्यक्ष जिसीले बताउनुभयो । यहाँका किसानले अझै पनि परम्परागत रुपमा सुन्तला खेती गरेका कारण यसलाई व्यावसायिकीकरण र बजारीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । गाउँदेखि बजार क्षेत्र बाग्दुला र  बिजुवारमा सम्पर्क गरी पठाउँदा उचित मूल्य नपाएको किसानको गुनासो छ । 

प्युठान नगरपालिका–१० का रविलाल रोका मगरले पनि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले आफ्नो जमीनमा सानाठूला गरी सुन्तलाका करीब २०० बोट लगाउनुभएको छ । बाबुबाजेले लगाउँदै आएको सुन्तलालाई पछिल्ला वर्षमा व्यावसायीकरण गरिएको उहाँले बताउनुभयो । विभिन्न निकायको सहयोगमा सुन्तला खेती फष्टाउनसमेत सहयोग भएको उहाँको भनाइ छ । सुन्तलासँगै उहाँले मौसम खेती पनि गर्नुभएको छ । “फलफूल बिक्रीवितरणबाटै घरपरिवार चलाएको छु”, उहाँले भन्नुभयो, “राम्रो आम्दानी हुन थालेपछि यसलाई व्यावसायीकरण गरेको हुँ ।” यस वर्ष भने असिनाले दानामा असर गर्दा उत्पादनमा कमी आउने उहाँको भनाइ छ । 

मगरसंगै प्युठान– ९ र १० मरन्ठानाका  करीब ५०   किसानले सुन्तला र मौसम खेती गर्दै आएका छन् ।  एक जना किसानले  याममा करीब चार क्विन्टलसम्म सुन्तला र मौसम बिक्रीवितरण गर्ने स्थानीयवासी रमेश गिरीले बताउनुभयो । यहाँका किसानले उत्पादन गरेको फलफूल बिक्रीका लागि  नगरपालिकाले निःशुल्क ढुवानी गरिदिने व्यवस्था मिलाएको छ । दशैंतिहार जस्ता ठूला चाडपर्वमा लाग्ने मेलामा नगरपालिकाले ढुवानी गरिदिएपछि फलफूलले उचित मूल्य पाएको र  किसानलाई सहज भएको गिरीले बताउनुभयो ।

स्वर्गद्वारी नगरपालिका –ं २ धनवाङका पटमान रोका मगरले पनि व्यावसायिक रुपमा सुन्तला खेती शुरु गर्नुभएको छ । लामो समयसम्म भारतीय सेनामा जागिर गरेर अवकाशपछि घर फर्किएर परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गरिएको मगरले बताउनुभयो । उमेरले ६५ वर्ष पुग्नुभएका पटमानले श्रीमती दिलमायाका सहयोगमा २०७१ सालदेखि व्यावसायिक रुपमा सुन्तला खेती गरेको बताउनुभयो ।  उहाँले हाल आफ्नै ११ रोपनी क्षेत्रफलमा सुन्तलाका पाँच सयभन्दा बढ बोट रोप्नुभएको छ । स्थानीयवासी जङ्गबहादुर घर्तीको नर्सरीबाट बिरुवा किनेर खेती शुरु गर्नुभएका पटमानले मकैबारीमा मकैसँंगै सुन्तला लगाउनुभएको छ । एकै ठाउँबाट दुवै उत्पादनले आम्दानी हुने उहाँको विश्वास छ । 

अन्य खेतीमा पटकपटक मेहनेत गर्नु पर्ने भए पनि सुन्तला खेतीमा वर्षका एकदुई पटक मलजल गरेपछि राम्रै फल पाइने पटमानले बताउनुभयो । सुन्तलालाई प्राङ्गारिक मलका लागि चार गाईसमेत उहाँले पाल्नुभएको छ ।  पछिल्लो समय सुन्तलामा कीरा लाग्ने, जरामा झोपा लाग्ने तथा सेतो, पहेंँलो रोग लाग्ने हुनाले विषादी प्रयोग गर्नु परेको उहाँ बताउनुहुन्छ । परम्परागत रुपमा बारीको ढिककाल्नामा सुन्तला खेती गरिए पनि हाल भने आफ्नो जग्गाको पूरै क्षेत्रफलमा सुन्तला लगाइएकोे उहाँको भनाइ छ । सडकको पहुँचबाट अलि टाढा रहेको सो गाउँमा हाल सडक निर्माण भएसँगै उत्पादन गरिएका सबै वस्तुले सहज रुपमा बजार पाउने किसानको आशा छ । 

यससंगै प्युठानका विभिन्न क्षेत्रमा परम्परागत रुपमा रहेका सुन्तला खेतीलाई पछिल्लो समय व्यावसायिकीकरण गरिँदै आएको पाइन्छ ।  जिल्लाका ऐरावती, नौबहिनी गाउँपालिकासहित स्वर्गद्वारी नगरपालिकामा समेत व्यावसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!