सरकारको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क उठाउँदै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

Posted on: 19 Sep, 2020

असोज ३, चितवन | बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क लिएको छ । मन्त्रालयले पिसिआर परीक्षण शुल्क रु दुई हजार मात्र लिन सरकारी र निजी अस्पताल एवं प्रयोगशालालाई निर्देशन गरेको छ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार नमूना सङ्कलनका लागि रु ५०० अतिरिक्त शुल्क अस्पतालले लिँदै आएको छ । उहाँले भन्नुभयो' “अस्पताल सञ्चालक समितिले निर्णय गरेकाले हामीलाई घटाउने अधिकार छैन ।” रिएजेण्टहरुको बोलपत्र भएकाले अबको खरिदमा मूल्य घटेमा समितिको बैठकले घटाउने निर्णय गर्ने उहाँको भनाइ छ । अस्पतालले भिटिएमसहित खर्चका लागि भन्दै स्वाब सङ्कलनमा अतिरिक्त रकम उठाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले पिसिआर परीक्षणमा रु दुई हजारभन्दा बढी कसैले लिन नपाउने बताउनुभयो । कसैले अटेर गरेमा कारवाही गरिने उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अतिरिक्त शुल्क लिएको विषयमा आँफूले बुझ्ने जानकारी दिनुभयो । यहाँ भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा परीक्षण निःशुल्क गरिएको छ भने चितवन मेडिकल कलेजले रु दुई हजार मात्र लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!