मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना

Posted on: 23 Sep, 2020

असोज ७, रुकुमपूर्व । रुकुम–पूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर आएका ३२ वटा योजनालाई जिल्ला समन्वय समितिले स्वीकृत गरेको छ । प्रदेश ५ सरकारले आर्थिक तथा सामाजिक सूचकाङ्कका आधारमा कमजोर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिएको हो । 

सूचकाङ्कमा कमजोर समुदाय, घरपरिवार वा व्यक्तिहरूको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसरहरू तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने मुख्य उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमको लागि अहिले जिल्लाबाट ३२ वटा योजना छनोट भएका छन् । जसमा चालुतर्फका २२ वटा र पुँजिगत तर्फका १० योजना छन् । 

यस वर्ष सिस्ने गाउँपालिकामा १२ कार्यक्रम सञ्चालन हुने छन् भने भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा दश/दश वटा कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका जिल्ला संयोजक लिलामणि गौतमले बताउनुभयो । कार्यक्रम सञ्चालनको लागि तीन  गाउँपालिकामा रु ६० लाखका दरले रु एक करोड ८० लाख बजेट आएको छ । जिल्ला समन्वय समितिले स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनको चरणमा गइसकेको संयोजक गौतमले बताउनुभयो । 

लक्षित वर्ग, स्थानीय तह र गैरसरकारी संस्थासँगको सहकार्य एवं सहभागितामा यो कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमले गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच तथा सीप विकासका कार्यक्रममार्फत लक्षित वर्गको क्षमता वृद्धि र सशक्तीकरण गर्ने, स्वरोजगारी तथा आयआर्जनका क्रियाकलापमा प्राथमिकता दिने छ । सामाजिक संरक्षणसम्बन्धी कार्यक्रमअन्तर्गत असहाय अशक्त, अपाङ्ग भएका व्यक्तिहरूको पुनःस्थापनासम्बन्धी गतिविधि सञ्चालन गर्ने र कुनै प्रकोप तथा घटनाबाट घरवारविहीन भएका परिवारलाई सहयोग गरिने कार्यक्रम संयोजक गौतमको भनाइ छ । यस वर्ष भने कोरोना महामारीको चपेटामा परेकालाई मध्यनजर गर्दै मागमा आधारीत उद्यमशिलता कार्यक्रम सञ्चालन गरिने जिल्ला कार्यक्रम संयोजक गौतमले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!