माछापुच्छ्रे बैंकको साधारणसभा कात्तिक ६ गते, दशैंअघि सेयरधनीले लाभांश पाउने

Posted on: 01 Oct, 2020

असोज १५, काठमाडौँ । माछापुच्छ्रे बैंकले कात्तिक ६ गते पोखरमा साधारणसभा बोलाएको छ । माछापुच्छ्रेले सभाको मिति तय गरेसँगै आर्थिक वर्ष ०७६/७७ को वार्षिक साधारणसभा गर्ने पहिलो बैंकसमेत बन्‍ने भएको छ ।

बैंकको साधारणसभाले  सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ७.०३ प्रतिशत अर्थात् ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि समेत गरेर ३.७३ प्रतिशत अर्थात् २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा पेस गर्नेछ ।

त्यस्तै  साधारणसभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्‍विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिए सोसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको बैंकले जनाएको छ । 

बैंकले साधारणसभाका लागि बुक क्लोज मितिसमेत तय गरेको छ । जसअनुसार बैंकले असोज २२ गते सेयर दाखिला खारेजको दर्ता बन्द गर्ने भएको छ । बैंकले २२ गते बुक क्लोज मिति तोकेसँगै असोज २१ गतेसम्म कायम सेयरधनीले बैंकको  लाभांश पाउनेछन् । सोही मितिसम्म कायम सेयरधनीले सभामा पनि भाग लिन पाउनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!