विपद् व्यवस्थापन कोषमा महासङ्घको सहयोग

Posted on: 02 Oct, 2020

असोज १६, काठमाडौँ । मस्र्याङ्दी गाउँपालिकाको विपद् व्यवस्थापन कोषका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले बिहीबार रु दुई लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महासङ्घका सचिव ठाकुर भण्डारीले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएको होे । कार्यक्रममा भण्डारीले वन संरक्षण र विकासले जैविक विविधता संरक्षण र वन्यजन्तुको वृद्धिसँगै, मानव–वन्यजन्तुबीचको द्वन्द्व मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो ।

“विशेषगरी चितुवाको आक्रमणबाट मानिस घाइते हुने, घरपालुवा पशुपन्क्षीको हानी नोक्सानी, मृग, बँदेल, दुम्सी, भालु तथा बाँदरबाट अन्नबालीको क्षति हुनु द्वन्द्वको मुख्य कारण हो”, उहाँले भन्नुभयो । वन्यजन्तुले पुर्याएका क्षतिका कारण स्थानीय समुदायमा वन्यजन्तुप्रति नकारात्मक सोचको विकास भई बदलाको भाव पैदा भएको उहाँको भनाइ छ ।

वन्यजन्तुले पुर्याएको क्षति व्यवस्थापनका लागि भन्दै सो रकम हस्तान्तरण गरिएको हो । वन्यजन्तु व्यवस्थापनका लागि गाउँपालिकाले छुट्टै कार्यविधि बनाइएको र उक्त कार्यविधिको कार्यान्वयन शनिबारबाट हुने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । कार्यक्रममा फेकोफन गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले कास्की र तनहँुमा विगत पाँच वर्षदेखि फेकोफनको नेतृत्वमा यससम्बन्धी काम भइरहेको जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!