कोभिड–१९ विरुद्धको लडाईंमा हिमालय एयरलाइन्सको सहयोग

Posted on: 04 Oct, 2020

असोज १८, काठमाडौँ | उपत्यकामा कोरोना सङ्क्रमणको अप्रत्यासित बृद्धिसँगै निम्तिएको समस्यासँग जुध्न र समुदायमा कोरोना भाइरसको फैलावट रोक्न विमान सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले उपत्यकाका विभिन्न हस्पिटलहरुलाई निरन्तर सहयोग गर्दै आएको छ ।  

एयरलाइन्सले महामारी विरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्य कार्यकर्ताहरुको सुस्वास्थ्यको सुनिश्चिता र तिनलाई सङ्क्रमणबाट बचाउन तत्काल चालिनुपर्ने कदमको महत्व बुझ्दै शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र- बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर- महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल- फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री प्रदान गरेको जनाएको छ । 

कार्यक्रममा हिमालय एअरलाइन्सको ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती उज्ज्वला दलीले शहिद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट प्रदान गरेकी छन् । त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहलाई १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट प्रदान गरिएको छ ।


एअरलाइन्सले कोभिड–१९ विरुद्धको लडाईंमा अत्यावश्यक पर्ने १०० थान पि.पि.ई. सेट, १०० थान आर.डि.टी. परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थान शु कभर र ५ बोत्तल (प्रत्येक ५०० मि.लि.का) स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको छ । सो हस्पिटलका निमित्त अध्यक्ष श्री पूर्णबहादुर शाहीले हस्पिटलका तर्फबाट उपरोक्त सामाग्रीहरु ग्रहण गरेका छन् । 

उक्त अवसरमा बोल्दै हिमालय एअरलाइन्स्की ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती दलीले कोभिड–१९ विरुद्ध लड्ने कार्यमा समाज र राष्ट्रको लागि सहयोग पुर्याउनु, हिमालय एयरलाइन्स सदैव तत्पर रहने बताइन् । आजको यस्तो सहयोगले वास्तवमै हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वको सुदृढिकरण गर्दै महामारी विरुद्ध लड्न अहोरात्र खटिरहेका हस्पिटलहरुसँग हातेमालोका साथ कार्य गर्ने हाम्रो प्रतिबद्धताको ज्वलन्त उदाहरण भएको पनि श्रीमती दलीले बताइन् । यी चिकित्सा सामाग्रीहरुले हस्पिटलहरुका अग्रभागमा रही विरामी सेवामा लागिपर्ने स्वास्थ्यकार्यकर्तालाई ठूलो सहयोग पुग्ने आशा गर्दै आउँदा दिनहरुमा समाजको हितका लागि एकतावद्धरुपमा लागिपर्ने दृढता समेत उनले व्यक्त गरिन् । 


नेपाल सरकारको कोभिड–१९ कोषमा गत बैशाखमै रु. एक करोडको आर्थिक सहयोग गरेको हिमालय एयरलाइन्सले त्यसका अतिरिक्त दूर–दराजका स्थानहरु रहेका आम्दा हस्पिटल, दमक, रोग नियन्त्रण तथा व्यवस्थापन केन्द्र, गुल्मी र फङ्लिङ्ग नगरपालिका, ताप्लेजुङ्ग जस्ता दुर्गम क्षेत्रका संघ–संस्थाहरुलाई कोभिड–१९ विरुद्ध लड्न सहयोग पुर्याउने चिकित्सा सामाग्रीहरु उपलब्ध गराएको छ । 

हिमालयले हालसम्म कोभिड–१९ महामारी रोकथामका चिकित्सा सामाग्रीहरुका ढुवानीका लागि ३७ वटा कार्गो उडान भर्दै ३२८.८२ टन सामाग्रीहरु नेपाल भित्र्याउन समेत महत्वपूर्ण भूमिका निभाएको छ । साथै एअरलाइन्सले विभिन्न देशहरुमा अलपत्र परेर रहेका नागरिकहरुलाई स्वदेश फिर्ता गराउन जम्मा ११८ वटा उडान भर्दै १९,४४२ जना यात्रुहरुलाई कोभिड–१९ विरुद्धका हरसम्भव सुरक्षा मापदण्ड अपनाएर सुरक्षित रुपमा देश भित्र्याएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!