सामाजिक सुरक्षा कोषका भुक्तानीहरु नेशनल पेमेन्ट्स इन्टरफेस मार्फत हुने

Posted on: 05 Oct, 2020

असोज १९, काठमाडौं। सामाजिक सुरक्षा कोषले आफ्ना विभिन्न योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानीहरु अनलाईनबाटै गर्ने प्रकृयाको थालनी गरेको छ। 

उपदानसम्बन्धी भुक्तानीका साथै कोषले दिने आश्रित परिवार दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायत आफ्ना भुक्तानीहरु एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)को को प्रयोग गरी अनलाईनबाटै गर्न थालेको हो । यसरी एनपीआईमा जोडिएको कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमार्फत् सोझै लाभाग्राहीको बैंक खातामा साविक रकम जम्मा हुने व्यवस्था रहेको छ ।

हाल कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट भुक्तानी दिने गरिएको छ। एनसीएचएल र कोषबीच गत वर्ष नै एनपीको प्रयोग गरी बैंक खातामा आधारित भुक्तानी गर्नका लागि सम्झौता भएको थियो ।

रोजगारदाताले कोषको अनलाईन एसओएसवाईएस  प्रणालीमा आफूलाई दर्ता गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई-पेमेन्ट तथा यसका सदस्य बैंक वित्तिय संस्थाका शाखाहरु मार्फत् हुँदै आएको छ। जसअन्तर्गत हालसम्म दश हजारभन्दा बढी कारोबारमार्फत् १.७ अर्ब रुपैयाँबराबरको रकम संकलन भइसकेको उल्लेख गरिएको छ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीमार्फत हाल उपलब्ध कनेक्ट आईपीएस र एनसीएचएल आईपीसको सञ्जालमा क्रमश: ५५ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन्।

एनसीएचएलले एनसीएचएल-ईसीसी एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, ई पेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ। साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी/ पिएसओ, सरकारी तथा अर्ध-सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट /प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ। सन् २०११ मा स्थापना गरिएको सामाजिक सुरक्षा कोष योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम संचालनमा रहेको छ। कोषको मुख्य उद्देश्य भन्नु नै योगदानकर्ताहरुको सामाजिक सुरक्षालाई ध्यानमा राखी विभिन्न योजना तथा कार्यक्रममार्फत् सञ्चित रकमको उचित परिचालन गर्नु हो। थप जानकारीका लागि www.nchi.com.np मा हेर्न सकिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!