स्याफ्रु–मैलुङ अन्तरराष्ट्रिय राजमार्ग सुधार शुरू

Posted on: 17 Oct, 2020

कात्तिक १, रसुवा | तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु–मैलुङ राजमार्गमा  सुधारका  काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली र कालोपत्रसमेतका काम गराउन पहिलो चरणमा सडक सतह मिलाउने काम अगाडि बढेको हो ।

कोरोना भाइरस नियन्त्रणको मापदण्ड पूरा गरी केही  उपकरणका साथै ४० भन्दा बढी मजदूर परिचालन भएका छन् । नियमानुसार निर्माण व्यवसायी कम्पनी छनोट गर्ने काम सम्पन्न भई गत भदौदेखि स्थलगत रूपमा राजमार्ग सुधारको काम  अगाडि बढेको प्राविधिकहरूले बताएका छन् ।

गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार राजमार्ग सुधारका काम सम्पन्न गराउन भारतीय कन्स्ट्रक्सन  कम्पनी तथा सिद्धि शाही जेभीलाई जिम्मा दिइएको छ ।

रू एक अर्ब ४५ करोडका लागतमा सम्पन्न हुने राजमार्गको सतह ११ मिटर फराकिलो हुने छ । सुधारको काम  ३० महिनाभित्र  सम्पन्न गर्न  आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता  भइसकेको बताइएको छ  ।

नेपाल–चीनबीच व्यापारिक कारोेवार गर्ने एक मात्र नेपालको जेठो उत्तरीनाका रसुवागढीको व्यवस्थापनअन्तर्गत गल्छीदेखि रसुवागढीसम्म डबल लेनको  राजमार्गका पूरै भागमा  सुधारको काम भइरहेको प्राविधिक हरूले जानकारी दिएका छन् ।

भौगोलिक कठिनाइ भएका स्थानमा नेपाली सेनाले डबल लेनको ट्रयाक निर्माण गरी रक्षामन्त्री ईश्वर पोखरेलमार्फत सडक विभागमातहतको  सुधार  आयोजनालाई हस्तान्तरण भएको थियो ।

उक्त राजमार्गमा थप मर्मत सुधार एवं कालोपत्र गर्ने काम सम्पन्न भएपछि सामान आयातनिर्यातमा अन्यन्तै सरलता आउने व्यापारी व्यवसायीले  बताएका छन् ।

धादिङको गल्छीदेखि नुवाकोटको  देवीघाट, ढुङ्गे र  बेत्रावती, रसुवाको मैलुङ,  स्याफ्रुबेँसी हुँदै  रसुवागढी अन्तरराष्ट्रिय   सिमानासम्म  ८५ किमी  दूरी छ ।  राजमार्गमा निर्माण गर्नुपर्ने ३२ सानाठूला  पक्की पुलमध्ये  तीन वटाको काम ९० प्रतिशत र  आठ वटाको काम करीब ५० प्रतिशत  भइसकेको छ । निर्माण गर्न बाँकी २१  पुलको भने निर्माण कम्पनी  नियुक्तिका लागि  कानूनी प्रक्रिया अगाडि बढिरहेको प्राविधिकले जनाएका छन् । 

बेत्रावतीदेखि कालिकास्थान, धुञ्चे हुँदै  स्याफ्रुबेँसीसम्म  ५४ किमी तथा बेत्रावती– मैलुङतर्फको दूरी २९ किमी छ । 

नदी किनारबाट निर्माण भएको राजमार्ग  उकालोओरालोरहित भएकाले मोटर गुडाउन  सजिलो  र दुर्घटनामा समेत न्यूनीकरण हुने आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

यस्तै मैलुङतर्फको राजमार्गमा सुधार अगाडि बढेको र  आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको  प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।

गाउँगाउँमा यातायात सञ्चालन

बाढीपहिराका कारण अवरूद्व ग्रामीण सडक पुनःसञ्चालनमा आएको छ । स्काभेटरको सहायताले उत्तरगया, नौकुण्ड  र कालिका गाउँपालिका अन्तर्गतका करीब १७० किमी  सडक सञ्चालनमा आइसकेका छन् । 

ग्रामीण सडक पुनः सञ्चालनमा आएसँगै अत्यावश्यक   खाद्य  सामग्री ढुवानी र बिरामी अस्पताल लान सहज भएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभयो ।

गत साउन तथा भदौमा परेको अविरल वर्षाले अवरूद्व गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिका क्षेत्रका ग्रामीण सडकसमेत पुनः सञ्चालनमा ल्याउन काम अगाडि बढिरहेको  बताइएको छ ।

नौकुण्ड गाउँपालिकाका यार्सा, पारच्याङ,  सरमथली, सिङ्बन्दी, सरसिउँ र  भोर्लेसम्मका  आफ्ना आधार इलाका क्षेत्रको छ वटा वडाका सडकमा आएका पहिरो हटाई सवारी साधन सञ्चालन गराउन रू ३२ लाख खर्च भएको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्बो घलेले जानकारी दिनुभयो ।

कालिका गाउँपालिकाले भने राम्चेको पलेप, धारापानीदेखि भदौरे हुँदै ज्याङ्लाङ, धारापानी, कुडुल्ले, घुम्ती बजार, धोबीखोला र जिबजिबे ग्रामीण सडक सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष सीता पौडेलले ग्रामीण सडकका ससाना पहिरो पन्छाउन गाउँपालिकाकै स्वामित्वमा रहेको सानो डोजर परिचालन गरिएको र ठूलाखाले पहिरो पन्छाउन ठूलै क्षमताको डोजर भाडामा ल्याई प्रयोग गरिएको राससलाई बताउनुभयो । सोका लागि करीब १० लाख लाग्ने जनाइएको छ ।

उत्तरगया गाउँपालिकाको सडक सुधारका लागि रू १५ लाख विनियोजन भएको छ । गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले वर्षा याममा क्षति भएका अधिकांश ग्रामीण सडक सञ्चालनमा आइसकेको जानकारी दिनुभयो ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भने रोङ्गादेखि थुमन एवं सानो भार्खुदेखि ठूलो स्याफ्रुसम्मको सडक मर्मतको काम अगाडि बढिसकेको बताउनुभयो । गाउँपालिका क्षेत्रमा रहेको करीब ४५ किमी ग्रामीण सडक चारपाँच दिनभित्र सञ्चालनमा ल्याइसकिने छ ।  काम सम्पन्न गराउन रू १५ लाख खर्च हुने अनुमान गरिएको  अध्यक्ष तामाङले जानकारी दिनुभयो । आमाछोदिङ्मो गाउँपालिकाको  विवरण भने आउन बाँकी  छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!