माछापालनका लागि ५० पोखरी बनाउँदै नगरपालिका

Posted on: 20 Oct, 2020

कार्त्तिक ४, इलाम । माछापालनमा प्रोत्साहनका लागि यहाँस्थित इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो । नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि रु ४० हजार अनुदान दिएर पोखरी निर्माण भएको नगरप्रमुख महेश बस्नेतले जानकारी दिनुभयो । 

नगरका १२ वडामध्ये वडा नं ७ बाहेक बाँकी वडामा माछापोखरी निर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोग दिई लागत साझेदारीमा १६ मिटर लम्बाइ आठ मिटर चौडाइ भएको माछापोखरी निर्माण गरी व्यावसायिक माछापालन कार्यक्रम सञ्चालन गर्ने गरी विभिन्न समूह, फर्म र कृषकबाट आवेदन माग गरिसकिएको छ । माग गरिएकोमा नगरको बैठकमार्फत उपयुक्त माछापालन किसानसमेत छनोट गरिसकिएको छ भने ४० जना किसान वैकल्पिकमा परेका छन् । 

“इलाम नगरपालिका–७ नं वडामा चाहिँ पोखरी भएको र नयाँ बनाउन उपयुक्त ठाउँ नभएकाले नदिएको हो”, नगरका सूचना अधिकारी रामकुमार साहले भन्नुभयो, “सबै प्रक्रिया पूरा गरेपछि मात्र अनुदानको रकम दिन्छौँ । त्यसका लागि मापदण्डसमेत बनाइएको छ ।” नगरमा माछापालनको प्रशस्त सम्भावना भए पनि सचेतना अभाव पालन नभएको सूचना अधिकारी साहको भनाइ छ । नगरमा माछा अन्य जिल्लाबाट ल्याउनुपर्ने बाध्यता हल गर्नसमेत नगरले प्रोत्साहन गरेको साहले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!