रसुवागढी जलविद्युतको काम जारी

Posted on: 15 Nov, 2020

कात्तिक ३०, रसुवा | निर्माणाधीन रसुवागढी जलविद्युत्  आयोजनाको काम  सामाजिक दूरी कायम गराई  जारी राखिएको छ ।  विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार  भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने   भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको हो । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार १८५  मिटर हेडरेस सुरूङ, विद्युत्गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी  गरेका कोभिड– १९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले  जानकारी दिनुभयो । आयोजनाको निर्माणस्थलमा  २२२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत  छन् । कोरोना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुईले यथेष्ट कामदार  भने ल्याउन नसकेको बताइन्छ । सिभिल कामको समग्र  प्रगति ७८ प्रतिशत पूरा  भए तापनि कोरोना सङ्क्रमणको जोखिमले उपकरण  जडान भने हुन सकेको छैन । सो कामको जिम्मा पाएको भ्वाइथ इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम प्रभावित  भएको आयोजनाका प्राविधिकले जनाएका छन् ।

कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको  कम्पनीले   भूमिगत संरचनाबाट निर्माण भइरहेको  आयोजनामा  विद्युत्गृहको पानी बाहिर पठाउने ० ३४ मिटर  टेलरेस सुरूङ छेड्न  र सर्चटैँक मात्र निर्माण गर्न मात्र बाँकी रहेको जनाइएको छ ।  रु १३ अर्ब ६४ करोडका लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो ।  आयोजना निर्माणमा ढिलाइ भए पनि ऊर्जा उत्पादनको कार्य दिगो र भरपर्दो हुने निर्माणमा सम्लग्न  प्राविधिकले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!