इन्फास्ट्रक्चर बैंकको आईपीओ प्रस्ताव पारित, एकैपटक ८ अर्बको सेयर आउँदै

Posted on: 19 Nov, 2020

मंसिर ४, काठमाडौं । इन्फास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ प्रस्ताव पारित भएको छ । बैंकको बुधबार बसेको साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । 

देशको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न स्थापित नेपालको एउटामात्रै बैंकको रुपमा रहेको सो बैंकले चुक्ता पुँजीको ४० प्रतिशतले हुने ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेगरी तयारी गरेको थियो । हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सो बैंकले सो आईपीओ निष्कासन गरेपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ नाघ्नेछ । यो पुँजी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरुमध्ये हालसम्मकै सबैभन्दा बढी हुनेछ । 


राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका जुनसुकै बैंक तथा वित्तीय संस्थाले स्थापनाको ३ आर्थिक वर्षभित्र अनिवार्य रुपमा सर्वसाधारणमा जानुपर्ने व्यवस्था छ । सोही अनुसार निफ्राको साधारणसभाले प्रस्ताव पास गरेको हो । यो प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेपछि धितोपत्र बोर्डमा स्वीकृतिका लागि बैंकले आवेदन दिनेछ । बोर्डबाट निष्कासन गर्न स्वीकृति प्राप्त भएपछि आईपीओ निष्कासन हुनेछ । 

बैंकले यही त्रैमासभित्र (पुस मसान्त) भित्रै आईओ निष्कासन गरिसक्ने लक्ष्य लिएर अघि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली बताउँछन् । इन्फास्ट्रक्चर बैंकमा हाल नेपाल सरकारसहित बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र कर्पोरेट हाउसको समेत लगानी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!