सेयर बजारमा आइतबार नयाँ रेकर्ड कायम, एकैदिन ९ अर्ब २२ करोडको सेयर किनबेच

Posted on: 29 Nov, 2020

मङ्सिर १४, काठमाडौँ । सेयरबजारमा आइतबार फेरि नयाँ रेकर्ड कायम भएको छ। साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिदबिक्री रकम दुवैमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको हो । 

गत बिहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज (आइतबार) ७५ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंकमा बन्द भएको छ ।  त्यस्तै, यो दिन कारोबार रकम ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, यो पनि अहिलेसम्मकै सबैभन्दा धेरै हो । 

आइतबारको बजारलाई जीवन बीमा र बैंकिङ समूहले धेरै उचालेको छ । २४५ अंकले बीमा समूह बढ्दा बैंकिङ समूहले पनि बलियो साथ दिएको छ। वाणिज्य बैंक ११२ अंक र विकास बैंक १७३ अंकले वृद्धि भएको छ। आइतबार सर्किट लाग्ने अधिकांश कम्पनीमा सबैभन्दा धेरै बैंकहरु छन्। दर्जन बढी बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।


त्यस्तै मितेरी डेभलपमेन्ट, माछापुच्छ्रे, सनराइज, मेगा, नेपाल बंगलादेश, कुमारी, ग्लोबल आइएमई, महालक्ष्मी विकास बैंक, सिटिजन्स, नेपाल क्रेडिट एण्ड कमर्स, सिभिल, लक्ष्मी, मुक्तिनाथ विकास बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशतले वृद्धि भएको छ।

आइतबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर किनबेच भएको छ। दिनभरीमा ५१ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।त्यस्तै, १० प्रतिशत बोनस सेयर लिन कुमारी बैंकको ४० करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ। कुमारी कैंकको आज बुक क्लोज परेकाले सर्वाधिक किनबेच भएको थियो।

प्रभु र नबिल बैंकको ३३/३३ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल बैंकको ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै ग्लोबल आइएमई बैंकको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। दिनभरीमा २०० कम्पनीको सेयर किनबेच हुँदा १०२ कम्पनीको मूल्य बढेको छ भने ५६ वटा कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको सेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!