अम्बा र ड्रागन फ्रुटको व्यावसायिक खेती

Posted on: 11 Jan, 2021

पुस २७, प्युठान | प्यूठानमा व्यावसायिक रुपमा अम्बा  र ड्रागन फ्रुट खेती गरिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका–¬ २ दर्भानमा खेती गरिएको हो ।  तीन व्यक्तिका साझेदारीमा हाम्रो बहुउद्देश्यीय कृषि फार्ममार्फत गत २०७६ असारदेखि  खेती शुरुआत गरिएको हो । दर्भानका केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले संयुक्त साझेदारीमा खेती गर्दै आउनुभएको हो । 

दर्भानसँगै राप्ती गाउँपालिका– ¬२ बराखुट्टीमा पनि अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी एक हजार ३०० अम्बाको बोट लगाएको सञ्चालक केशरबहादुरले जानकारी दिनुभयो । ती दुवै ठाउँमा गरी एक हजार २०० ड्रागन फ्रुटको खेती गरिएको छ ।  तामिलनाडुबाट बोटको रु २०० मा खरीद गरी  ताइवान पिङ्क र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको बिरुवा लगाइएको छ । 

विभिन्न क्षेत्रमा भारत तथा चीनबाट अम्बा खरीद हुँदै आएकाले छिमेकी जिल्लामा समेत खपत हुने विश्वासले  खेती गरेको सञ्चालक कृषक गुरुङले जानकारी दिनुभयो । एक वर्षका अवधिमा दुई चरणमा अम्बा फलेको उहाँको भनाइ छ । दुई चरणमा प्यूठान र दाङमा गरी १५ क्विन्टल अम्बा बिक्री गरेको र तेस्रो चरणको अम्बा फल्दै गरेको उहाँले बताउनुभयो । प्रतिकेजी रु १०० का दरले जिल्लासँगै बुटवलमा पनि अम्बा बिक्री गरिएको उहाँको भनाइ छ । अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो छ । वर्षमा एकपटक मात्र मलजल गरे अम्बाखेती राम्रो हुने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै ड्रागन फ्रुटको पनि पहिलो उत्पादन बिक्री गरिएको छ । विसं २०७७ साउनदेखि कात्तिकको अवधिमा एक क्विन्टल ड्रागन फ्रुट बिक्री गरिएको सञ्चालक गुरुङको भनाइ छ । भारतको गुजरातबाट बिरुवा खरीद गरी फ्रुटको खेती गरिएको हो । पहिलो वर्ष केही कममात्रामा फल दिए पनि अबका वर्षमा यसले राम्रो फल दिने सञ्चालकको विश्वास छ । फार्ममा रातो र सेतो गरी दुई थरीको ड्रागन फु्रट उत्पादन भएको छ । रातोलाई प्रतिकेजी रु ८०० र सेतोलाई प्रतिकेजी रु ७०० मा बिक्री हुने गरेको छ । 

उत्पादित पु्रmट जिल्लासँगै बुटवल र काठमाडौँमा पनि खपत हुने गरेको छ । खेती कम हने गरेकाले बिक्रीवितरण सहजरुपमा हुने गरेको छ । करीब रु २५ लाखको लगानीमा खेती गरिएको हो । वार्षिक रु एक लाख भाडा तिर्ने गरी प्यूठानमा १६ रोपनी र दाङमा १० कठ्ठा जमीन भाडामा लिई उक्त खेती गरिएको हो । ड्रागन फ्रुट र अम्बासँगै चार रोपनी क्षेत्रफलमा एप्पलवेयर र ४०० बिरुवा स्ट्रबेरीको पनि खेती गरिएको सञ्चालक उहाँले बताउनुभयो । 

उमेरले ६२ वर्ष पुग्नुभएका गुरुङको राजनीतिक आवद्धता समेत रहेको छ ।  सानैदेखि  खेती गर्दै आउनुभएका उहाँले कम्युनिष्ट पार्टीले लिएको नारालाई सार्थक बनाउन राजनीतिसँगै कृषि पेशामा लागेको बताउनुभयो । “भाषणमा कृषि क्रान्तिका नारा लगायौँ, व्यवहारतः खासै कृषि क्रान्ति भएन”, उहाँले भन्नुभयो, “व्यवहारत कृषि क्रान्तिका लागि हामीले खेती गरेका हौँ ।” अम्बा र ड्रागनको बिरुवा उत्पादन गर्ने र आफ्नो खेतीबाट सबै किसानलाई जोड्ने योजनासमेत बनाएको उहाँको भनाइ छ |रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!