प्रदेश नं १ खोप अभियानः मन्त्री कार्कीबाट उद्घाटन

Posted on: 27 Jan, 2021

माघ १४, झापा । प्रदेश नं १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यको शुरुआत गर्नुभएको । कोशी अस्पताल विराटनगका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दास र वरिष्ठ फिजिसियन चिकित्सक डा दीपक सिग्देललाई खोप लगाएर शुरुवात गरिएको छ ।

प्रदेशका आठ  जिल्लाका आज १९ वटा खोप केन्द्रमा खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आज  झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । मोरङमा पाँच, सुनसरीमा चार, झापा र इलाममा तीन÷तीन र अन्य जिल्लामा एक÷एक वटा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालीम दिई सकिएकाले आठ जिल्लाका १९ वटै केन्द्रमा कार्यक्रम शुरु भएको छ । बिहीबार चार र शुक्रबार दुई जिल्लामा खोप कार्यक्रम शुरु हुने बस्नेतले बताउनुभयो ।

मन्त्री कार्कीले खोप कार्यक्रमको उद्घाटन गर्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेको छ भन्दै आगामी केही दिनभित्र थप जनताका लागि खोप उपलब्ध गराउने विश्वास दिलाउनुभयो । उहाँले प्रदेश सरकारले कोभिड नियन्त्रणमा गरेका कार्य अनुकरणीय रहेकामा अन्य प्रदेशले अनुशरण गरेको स्मरण गर्नुभयो । उहाँले कोरोनाबाट प्रदेशमा अत्यन्त कम मानवीय क्षति कम गर्नका लागि यस क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको योगदानको प्रशंसा गर्नुभयो ।

मन्त्री कार्कीले कोभिडविरुद्ध विजयी प्राप्त गर्ने कामको शुरुवात भएको चर्चा गर्दै जनताको स्वास्थ्य समाधानका लागि तीनै तहको सरकार सक्षम रहेको बताउनुभयो । कोभिड विरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसिजन डा दीपक सिग्देलले खोप सुरक्षित रहेकाले डराउनु नपर्ने बताउनुभयो । उहाँले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताउनुभयो । पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए पाँच महिनासम्म सुरक्षित रहन सकिने उहाँले जानकारी दिनुभयो । प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाइकर्मीसहित ३५ हजार ५७६ लाई खोप लगाइँदैछ । 

झापामा चिकित्सकले लगाए पहिलो खोप

भद्रपुर, बिर्तामोड र दमकस्थित सरकारी अस्पतालमा आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा डा मनिष सुवेदी र अनारमनी स्वास्थ्य केन्द्र विर्तामोडमा डा हेमन्त राठीले पहिलो खोप लगाउनु भएको छ । डा सुवेदी मेची प्रादेशिक अस्पताल र डा राठी लावण्य हेल्थकेयर क्लिनिकमा कार्यरत हुनुहुन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गर्नुभयो । सो अवसरमा प्रजिअ श्रवणकुमार तिम्सिनालगायतका सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।

विर्तामोडस्थित अनारमनी स्वास्थ्य केन्द्रमा स्थानीय नगरप्रमुख ध्रुव शिवाकोटीले खोप अभियान सफलताको शुभकामना मन्तव्य व्यक्त गरेर अभियानको प्रारम्भ गर्नुभयो भने दमक अस्पतालमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अभियानको शुभारम्भ गर्नुभयो । पहिलो चरणको खोप कोभिड–१९ को महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनका चालक, सुरक्षाकर्मी र व्यवस्थापकीय कार्यमा खटिएका कर्मचारीलाई लगाइएको प्रजिअ श्रवणकुमार तिम्सिनाले बताउनुभयो ।

झापामा नौ हजार जनालाई पुग्ने गरी भारतमा उत्पादित कोभिशिल्ड नामक कोरोना खोप सरकारले पठाएको छ । देब्रे पाखुरामा स्वास्थ्यकर्मीले खोप लगाएका थिए । आधा मिलिलिटर मात्रामा खोप पाखुराको मासुमा लगाइने र दोस्रो खेप चार हप्तापछि लगाइने फोकल पर्सन चौलागाईंले जानकारी दिनुभयो । झापाको मेची अस्पतालमा भद्रपुर, मेचीनगर, हल्दिबारी र कचनकबल पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ । यसैगरी अनारमनी स्वास्थ्य केन्द्रमा विर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, झापा, कनकाई र बाह्रदशी पालिकाका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । दमक अस्पतालमा दमक, गौरादह, गौरीगञ्ज, कमल र शिवसताक्षी पालिकाका व्यक्तिहरुले खोप लगाउनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!