आगलागीबाट तीन करोडको क्षति

Posted on: 27 Jan, 2021

माघ १४, जुम्ला । जुम्लाको तिला गाउँपालिका  ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताउनुभयो ।

सो आगलागी भएका घरबाट करीब ६४ वटा पशुचौपाया जलेर मृत्यु भएको वडाअध्यक्ष हस्त बुढाले बताउनुभयो । सुधारिएको चुलोेको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको वडाध्यक्ष बुढाले बताउनुभयो । आगलागी भएको गाउँमा अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीवासीले आगो नियन्त्रणमा लिएको वडाध्यक्ष बुढाले बताउनुयो । 

आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करीब चार घण्टा लाग्छ । काठैकाठका घर बढी भएकाले आगलागी बढेको सो गाउँका स्थानीयवासी बताउँछन् ।  मानवीय क्षति भने भएको छैन । राहतको लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँग समन्वय भई प्रदेशबाट केही राहतका सामग्री ल्याएर आउने तयारी रहेको गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताउनुभयो ।

हिउँदे वर्षा र हिमपात नहुँदा किसान चिन्तित 

 जुम्लामा हिउँदे वर्षा र हिमपात नहुदाँ यहाँका किसान चिन्तित भएका छन् । यस वर्ष हिउँद याममा हिमपात र पानी नपर्दा हिउँदे बालीनाली उत्पादनमा असर पुग्ने तिला गाउँपालिका– २ का किसान रतनबहादुर रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गत वर्षको मङ्सिर, पुस र माघमा गरी पाँच पटक हिमपात र वर्षा भएको थियो । हिउँदे बालीदेखि नयाँ स्याउ बिरुवालाई फाइदा गरेको थियो ।” यो वर्ष माघको मध्यमा पनि हिपतात र वर्षा नहुँदा स्याउका बिरुवादेखि हिउँदेखेतीलाई असर परेको किसान रोकायाले बताउनुभयो । ”

हिउँदेयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ४० देखि ६० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । “माघ महिनाभित्र पानी परे केही राहत मिल्छ । धेरै नोक्सानी हुँदैन”, उहाँले भन्नुभयो । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा उत्पादन वृद्धि हुने कार्यालय प्रमुख देवकोटाले बताउनुभयो  ।

यो वर्षको जाडोमा पश्चिम र पूर्वका केही क्षेत्रमा छिटफुट पानी परे पनि विगतमा जस्तो हिउँदे वर्षा भएको छैन ।  बाली लगाउन समस्या हुने तथा आकाशे पानीको भर पर्ने किसानका गहुँलगायत बालीमा प्रभाव पर्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिमाली जिल्लामा यसवर्ष धैरे वर्षा र हिमपात परेको छैन । पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!