सेती लोकमार्ग : ११ वर्षमा १३० किलोमिटर ट्र्याक

Posted on: 07 Feb, 2021

माघ २५, कैलाली । कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सडक हो सेती लोकमार्ग । यो लोकमार्गको निकै चर्चा हुने गर्छ । वर्षेनी पर्याप्त बजेट विनियोजन नहुँदा झण्डै ३५९ किलोमिटर लामो यो लोकमार्ग निर्माण शुरु भएको ११ वर्षमा १३० किलोमिटर मात्र ट्र्याक खुलेको छ ।

कैलालीको भागमा छ दशममलब पाँच किलोमिटर लामो भागमा कालोपत्रेको काम गरिएको छ । कालोपत्र गरिएका अन्य राजमार्गका सडकखण्डसँग यो लोकमार्गको झण्डै २० दशमलब पाँच किलोमिटर सडकखण्ड मिसिएको छ ।

अछामको साँफेबगर बजारदेखि घुघुरकोटसम्मको १० दशमलब पाँच किलोमिटर र बझाङको तमैल बजारदेखि चैनपुरसम्मको १० किलोमिटर लामो यो सडक अन्य राजमार्गका सडकखण्डसँग मिसिएको छ । मिसिएका सडकखण्ड कालोपत्र हुँदा (ओभरल्यापको हिसाब गर्दा) सेती लोकमार्गको अहिलेसम्म जम्मा २७ किलोमिटर कालोपत्र भएको जनाइएको छ । बीस दशमलब पाँच किलोमिटर लामो भागमा ग्राभेल गर्ने कार्य भएको छ । 

चैनपुरदेखि कैलालीको टीकापुरसम्मको झण्डै २४२ किमि लामो सेती लोकमार्ग सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्र्याक खोल्न बाँकी छ । बझाङको चैनपुरस्थित सेती लोकमार्ग आयोजना कार्यालयका सूचना अधिकारी विष्णुराज खातीले पर्याप्त बजेट नहुँदा निर्माणको काम सुस्त रहेको बताउनुभयो । “चैनपुरदेखि उरै भञ्ज्याङसम्मको भागमा भौगोलिक विकटतासँगसँगै वर्षायाममा वर्षाको र जाडो याममा हिमपातको समस्या हुँदा पनि निर्माण कार्यमा समस्या भइरहेको छ”, खातीले भन्नुभयो, “वर्षभरीमा छ महिना मात्र काम गर्न सकिने भए पनि बजेट पर्याप्त नहुँदा काम सुस्त छ ।” 

चैनपुरदेखि ताक्लाकोटसम्मको झण्डै ११७ किलोमिटर खण्डमध्ये ३५ किमीको भागसम्म मात्र ट्र्याक खोलिएको छ । बयासी किमीको भागमा ट्र्याक खोल्न बाँकी छ । यो भागमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम पूरा भए पनि ६७ किलोमिटर लामो भागमा वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन बाँकी छ । सेतीका पाँच जिल्ला कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाकालाई जोड्ने यो लोकमार्ग उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्व बोकेको सडक पनि हो । 

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण चीनको मानसरोवर पुग्न यो लोकमार्ग छोटो मार्ग हुने देखिएको छ । लोकमार्गको निर्माण पूरा हुन सकेमा मानसरोवर आवागमन सहज हुने मात्र नभइ सुदूरपश्चिम प्रदेशको समग्र विकासमा कोशे ढुङ्गा सावित हुने विश्वास गरिएको छ । आव २०६५÷६६ मा निर्माण शुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकता प्राप्त सडक आयोजना हो ।

कैलालीको टीकापुरदेखि बझाङको चैनपुरसम्मको खण्डलाई दक्षिणी खण्ड र बझाङ सदरमुकाम चैनपुरदेखि उत्तरतर्फ रहेको सिमानाका ताक्लाकोटसम्मको खण्डलाई उत्तरी खण्डको नाम दिई यो सेती लोकमार्ग निर्माणाधीन छ । अछामको साँफेस्थित सेती लोकमार्ग योजना कार्यालयका प्रमुख लालीतजन खनालले सेती अञ्चालका पाँच जिल्ला जोड्दै मानसरोवर जाने र उत्तर–दक्षिण जोड्ने यो सडक निकै महत्वपूर्ण रहेको बताउनुभयो । 

उहाँले यो लोकमार्गको दुवै खण्डको सडक निर्माणका लागि सरकारले चालू वर्षमा रु १५÷१५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सेती लोकमार्ग निर्माण कार्य शुरुका वर्षमा सुदूरपश्चिमको सडक डिभिजन कार्यालयमार्फत हुँदै आएकामा केही वर्षपछि अछामको साँफे र बझाङको चैनपुरमा स्थापना गरिएका दुई छुट्टाछुट्टै सेती लोकमार्ग योजना कार्यालयमार्फत निर्माणको कार्य भइरहेको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!