बाँकेको बैजनाथमा दुई ठूला योजना कार्यान्वयनको चरणमा

Posted on: 15 Feb, 2021

फागुन ३, नेपालगञ्ज । प्रदेश नं ५ सरकारले प्राथमिकता दिएका दुई योजना कार्यान्वयनको चरणमा पुगेपछि बाँकेको बैजनाथ गाउँपालिकाका सर्वसाधारण हर्षित भएका छन् । केन्द्रसहित प्रदेश सरकारले बैजनाथमा रु छ अर्ब लगानीमा औद्योगिक क्षेत्र प्रस्ताव गरेको छ । निर्माणाधीन औद्योगिक क्षेत्रमा ३३८ बिघा क्षेत्रफल छ । औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण र डिपिआरको काम सकिएपछि अहिले वातावरण प्रभाव मूल्याङ्कनको काम र कस्ताखाले उद्योग आवश्यक पर्ने सम्बन्धमा समेत सर्वेक्षण भइरहेको छ । 

भौतिक संरचना निर्माणका लागि नक्साङ्कनदेखि अन्य प्राविधिक पक्षका लागि कन्सल्टेन्टलाई जिम्मेवारीसमेत दिइसकिएको छ । नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने यस क्षेत्रका उद्योगीसँग नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयले आशयपत्र माग गरेकामा अहिलेसम्म २०० भन्दा बढी आशयपत्र प्राप्त भइसकेको छ । 

नेपाल सरकारको योजनाअनुसार औद्योगिक क्षेत्रमा प्रत्यक्ष रोजगारको अवस्था सिर्जना हुने करिब २०० ठूला र मझौला उद्योग स्थापना गरिने नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो  ।  उहाँका अनुसार सो औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्योगीका लागि कम्तीमा पाँचदेखि १० वर्षसम्म आयकर छुट सुविधा दिने, कम्तीमा पाँच वर्ष लिजलेन्ट लिन नहुने र बैंकिङ सुविधा दिनुपर्ने सुझाव सरकारलाई दिइएको छ ।  

अहिले नेपालगञ्ज बजारको मध्यभागमा सञ्चालनमा रहेको ‘नेपालगञ्ज औद्योगिक क्षेत्र’ले प्रतिकूल वातावरणीय प्रभाव परेका कारण पनि शहरबाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको हो । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेको उद्योगबाट निस्कने धँुवा र मेशिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग वर्षौंदेखि उठ्दै आएको थियो । 

बाँकेको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र स्थापना भएपछि पनि नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकताअनुसार त्यहाँ स्थानान्तरण गर्न सकिने प्रमुख पुन बताउनुहुन्छ । नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भयो भने यसले प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने र वस्तु उत्पादनमा मुलुक केही हदसम्म आत्मनिर्भर पनि हुने विश्वास गरिएको छ । 

त्यसैगरी प्रदेश सरकारकै अर्को महत्वपूर्ण योजना मानसरोवर पार्कको निर्माण पनि बैजनाथ गाउँपालिकामा शुरु भएको छ । चीनको तिब्बतमा रहेको हिन्दूहरुको आस्थाको केन्द्र तीर्थस्थल मानसरोवरको प्रतीकसहित गाउँपालिकाको वडा नं ६ मा बोटानिकल गार्डेनसहित मानसरोवर पार्क निर्माण हुन लागेको हो । विकासका दृष्टिले पछि परेको गाउँपालिकामा ठूला योजना शुरु भएपछि स्थानीयवासी खुशी भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताउनुभयो । 

न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवर पार्कको केही दिनअघि शिलान्यास गर्दै मुख्यमन्त्री शङ्कर पोखरेलले पार्क प्रदेश सरकारको प्राथमिकताको योजनाभित्र परेको बताउनुभएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!