अर्थतन्त्रको आकार केही बढ्ने अनुमान

Posted on: 04 Mar, 2021

फागुन २०, काठमाडौँ ।  नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार केही बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले कूल गार्हस्थ उत्पादन गणनाको आधार वर्ष परिवर्तन भएको हो । विभागमा आज आयोजित कार्यक्रममा हालको राष्ट्रिय लेखा तथ्याङ्कको गणना गर्दाको आधार वर्ष सन् २०००÷०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरेको जानकारी दिइएको हो । अबदेखि सन् २०१०÷११ को आधारमा विगत तथा आगामी वर्षको स्थिर मूल्यमा गणना र मापन गरिने छ । सम्पूर्ण गणनाको आधार वर्ष सन् २०१०÷११ लाई कायम गरिएको छ । 

अर्थतन्त्रमा नयाँ क्षेत्र उदाउँदै गरेको र परिवेश फेरिएको भन्दै विभागले सन् २०१०÷११ लाई नयाँ आधार वर्ष निर्धारण गरेको हो । अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै नयाँ आधार वर्ष परिवर्तन गरिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । यो नेपालको इतिहासमा पाँचौँ आधार वर्ष हो । दुई दशक पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएकाले आधार वर्ष परिवर्तन गरिएको उहाँले बताउनुभयो । 

यसैबीच नयाँ आधार वर्ष बमोजिम आर्थिक वर्ष २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ । गत आवमा वार्षिक आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो । यस वर्ष प्रतिव्यक्ति आय एक हजार १३४ अमेरिकी डलर रहेको विभागले जनाएको छ । नयाँ आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार रु ३९.४३ खर्ब पुगेको विभागले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!