हुलाकी सडक चार वर्षमा १५ किलोमिटर निर्माण

Posted on: 16 Mar, 2021

चैत ३, सर्लाही । मधेशको लाइफलाइन मानिने हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचक्र्याइँले सो सडक अलपत्र भएको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा सर्लाहीका जनता निराश बनेका छन् । 

हुलाकी राजमार्गअन्तर्गत सर्लाहीको सदरमुकाम मलङ्गवाबाट छिमेकी जिल्ला महोत्तरीसँग जोड्ने शितलपुर हर्दी खोलासम्मको सडक जीर्ण अवस्थामा छ । सडक निर्माण पूरा नहुँदा यस सडक हुँदै यात्रा गर्ने सर्वसाधारण दुर्घटनाको जोखिममा पर्नुको साथै धुल्लामे हुँदै आएको छ । 

यात्रा कष्टकर बनेको छ । हेमडुङ्ग एण्ड थोकर/हीरा एण्ड नमिता जेभी कम्पनीले मलङ्गवाबाट महोत्तरीको सिमाना शीतलपुर हर्दी खोलासम्मको १५ किलोमिटर सडकको निर्माण  तीन वर्षमा सम्पन्न गरिसक्ने भनी ठेक्का  लिएको थियो । 

ठेकेदार कम्पनीले ठेक्का लिएको चार वर्ष बितिसक्दा पनि २५ प्रतिशत कामसमेत नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । विगत एक वर्षदेखि निर्माणमा खटिएका निर्माण व्यवसायी काम नै छाडेर बेपत्ता भएका ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताउनुभयो ।

काममा हेलचक्राइँ गर्ने निर्माण व्यवसायीमाथि स्थानीय प्रशासन तथा मातहतका निकायले निगरानी गरिरहेको भए पनि निर्माण व्यावसायी सम्पर्कविहीन हुँदा निर्माणबारे बुझ्न नपाएको इश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले जानकारी दिनुभयो । 

उक्त सडक सुक्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी हिलाम्मे हुने गरेको छ । सर्लाहीबाट छिमेकी जिल्ला महोत्तरीको सिमाना हर्दी खोलासम्मको सवारी दूरी करिब २० मिनेटको रहेको भए पनि सडकको निर्माण नहँुदा घण्टौँ लाग्ने गरेको छ । 

जीर्ण सडकका कारण दिनदिनै सवारीसाधन बिग्रेर आफू हैरान भएको सवारी चालकको गुनासो छ । स्थानीय निकायले निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको ध्यानाकर्षण गराएको भए पनि ठेकेदारको माथिल्लो तहमा सम्बन्ध रहेका कारण त्यसको कुनै सुनुवाइ नभएको स्थानीय जनप्रतिनिधिको गुनासो छ । 

सङ्घीय संसद्मा पुगेका जनप्रतिनिधिले यस सडकको स्तरोन्नतीका लागि ठेकेदारलाई ध्यानाकर्षण गराउनेलगायत काम नगरेको स्थानीयको आरोप छ । बजेटको सुनिश्चिता हुँदाहुँदै पनि ठेकेदारले बदमासी गरिरहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनुभयो । 

स्थानीय दश गाउँका बासिन्दाका लागि किनमेल गर्ने सबैभन्दा नजिकको बजार सदरमुकाम मलङ्गवासम्म पुग्ने मुख्य सडकखण्ड हुलाकी सडक भए पनि निर्माण नहुँदा छिमेकी भारतका बजारमा जानुपर्नै बाध्यता छ । भारतबाट सर्लाही हुँदै महोत्तरी पुग्ने मुख्य सडककोरुपमा रहेको हुलाकी सडकको अवस्था स्तरोन्नति हुनुको सट्टा दिन प्रतिदिन जीर्ण अवस्थामा पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!