सिङ्गटी हाइड्रोपावरको आईपीओ खुल्यो, कस्तो छ वित्तीय अवस्था ?

Posted on: 19 Mar, 2021

चैत्र ६, काठमाडौं । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले  प्रतिकित्ता सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यसमा सर्वसाधारणले भने २६ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन दिन पाउनेछन् । 

५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । आईपीओमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि तोकिएको समयमा  आईपीओ बिक्री नभएमा चैत २० गतेसम्म बिक्री खुला रहनेछ । सिङ्गटी हाइड्रोको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिङ्गटीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले मध्यम जोखिममा रहेको आधार जनाउँछ । सिङ्गटीले २५ मेगावाट क्षमताको ‘सिङ्गटी खोला जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ । कम्पनीको जलविद्युत उत्पादन केन्द्र दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं. ३ स्थित सिङ्गटी बजार नजिक रहेको छ ।

यसको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख ६८ हजार रुपैयाँ अनुमान गरिएको छ । यसले साधारण लगानी फिर्ता हुने अवधि ८.१६  वर्ष तोकेको छ । वित्तीय प्रक्षेपण अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म सिङ्गटीको खुद नाफा ११ करोड ६३ लाख ८० हजार रुपैयाँ पुग्ने देखिन्छ ।  आर्थिक वर्ष २०७८/७९ मा २४ करोड ९२ लाख रुपैयाँ र आव २०७९/८० मा ४१ करोड १८ लाख १८ हजार रुपैयाँ खुद नाफा गर्ने कम्पनीको प्रक्षेपण छ ।

चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ८ रुपैयाँ ३ पैसा पुग्नेछ । आर्थिक वर्ष २०७८/७९ सम्ममा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १६ पैसा पुग्नेछ । साथै, प्रतिसेयर नेटवर्थ पनि १ सय १७ रुपैयाँ १९ पैसा हुनेछ । सर्वसाधारणलाई जारी हुन लागेको आईपीओ सबै बिक्री भएमा सिङ्गटीको चुक्ता पुँजी जारी पुँजीको बराबर अर्थात १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत, स्थानीयको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ । सिङ्गटीले आर्थिक वर्ष २०७९/८० सम्म पुँजी बढाउने कुनै योजना सार्वजनिक गरेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!