राजस्व चुहावट रोक्न सबै सामर्थ्य प्रयोग गर्ने अर्थमन्त्रीको दृढता

Posted on: 25 Mar, 2021

चैत १२, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोररुपमा प्रस्तुत हुने दृढता व्यक्त गर्नुभएको छ । “राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौँ, शक्तिका साथ प्रस्तुत हुन्छौँ”, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको आज अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेलले भन्नभुयो, “व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौँ ।”

 अर्थमन्त्री पौडेलले निर्दोष नपरुन् र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजगता अपनाउन सम्बनिधत विभाग र सुरक्षा निकायलाई आग्रह गर्नुभयो । उहाँले चुहावट नियन्त्रणका लागि समन्वयात्मक ढङ्गले काम गर्न सम्बद्ध निकायका अधिकारीहरूलाई  निर्देशन पनि दिनुभयो ।

 स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो । उहाँले प्रणालीमा रहेका कमजोरीहरूलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको बताउनुभयो ।

 अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच समयमै सूचना आदानप्रदान गर्न आवश्यक भएको बताउनुभयो । राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको जानकारी दिँदै आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सचेत रहन आवश्यक भएको बताउनुभयो । 

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दोषीलाई कानुनअनुसार कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजस्व चुहावट रोक्न नियमित रुपमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले ‘नियमित रुपमा अनुमगन गर्नुपर्छ’ भन्नुभयो । राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गालले राजस्व चुहावट हुन नदिन विभिन्न निकायबाट निरन्तर प्रयास भइरहेको जानकारी दिँदै चुहावटमा संलग्नहरूविरुद्ध पनि कडाइका साथ कारवाही भइरहेको बताउनभयो । 

 भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरूलाई प्रभावकारी बनाइने बताउनुभयो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जिल्लास्तरमा रहेका चुहावट नियन्त्रण समितिलाई प्रभावकारी बनाउन आवश्यक भएको  धारणा व्यक्त गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!