दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु

Posted on: 26 Apr, 2021

वैशाख १३, खोटाङ | जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ । खोटाङ यातायात प्रालिले आइतबारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल–बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु गरेको हो । 

दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटका लागि बस छुट्ने यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकमा नियमित बस सेवा शुरु भएपछि यात्रुहरु हर्षित भएका छन् । 

यसअघि रत्नपार्कबाट मुडे–नुनथला–महुरे हुँदै गाईघाटलगायत पूर्वी तराईका विभिन्न जिल्लामा नियमित सिधा बस सेवा सञ्चालनमा थियो । बाम्राङ तथा बुइपाको तल्लो भेगमा पर्ने उक्त सडक खण्डमा नियमित बस सेवा सञ्चालनमा आएपछि यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको छ । 

बाम्राङ र बुइपाबासीको मागलाई सम्बोधन गर्दै यातायात व्यवसायीसँग सहकार्य गरेर नियमित बस सेवा शुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताउनुभयो । निर्माण सम्पन्न गरेको लामो समयसम्म प्रयोगविहीन बनेको उक्त सडकखण्डमा नियमित बस सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ । 

उक्त सडक खण्डको डल्लेदोभानमा मोटरेबल पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न भएको र रु तीन करोड ८८ लाख लागत अनुमान आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजालले बताउनुभयो । डल्लेखोला दोभानमा आर्थिक वर्ष २०७७/०७८ मा पुलको बोलपत्र आह्वान हुने र सडक स्तरोन्नतिका लागि विभिन्न निकायसँग समन्वय गर्ने नगरप्रमुख रिजालले जानकारी दिनुभयो । 

दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पछिल्लो समय राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । जिल्लाका सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन स्थानीय तहहरु लागी परेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ७९ वटै वडामा साना तथा ठूला यातायात सञ्चालनमा छन् । गाउँगाउँमा निर्माण गरिएका सडकमा नियमित यातायात सञ्चालनमा आएपछि कृषि उपज निर्यात तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । 

चौध वर्षदेखि यातायातका साधन सञ्चालन भएको जिल्लामा पछिल्लो समय राजधानी काठमाडौँ तथा पूर्वी तराईका विभिन्न जिल्लासँग सिधा बस सेवा सञ्चालनमा छ । पूर्वी पहाडी जिल्ला खोटाङमा विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत गाडी ल्याएर दैनिक यातायात सञ्चालन गरिएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!