११ वाणिज्य बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको अवस्था कस्तो छ ?

Posted on: 27 Apr, 2021

वैशाख  १४, काठमाडौँ । विभिन्न ११ बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, सिभिल बैंक,  नेपाल बङ्गलादेश बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक र सिद्धार्थ बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।  

कुन बैंकको अवस्था कस्तो छ ? 

प्रभु बैंक

बैंकले चैत मसान्त अवधीसम्ममा २ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रूपैयाँ छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.०८ प्रतिशत बढी हो भने वितरणयोग्य मुनाफा १०५.६७ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ६.६ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड पुगेको छ । खुद फि तथा कमिसन आम्दानी ४२.०७ प्रतिशतले बढेर ८१ करोड ७५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ४६.८५ प्रतिशतले बढेको हो ।

बैंकले हालसम्म १ खर्ब ६३ अर्ब ७८ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ३४ अर्ब ३० करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य आधाले घटेर १.४८ प्रतिशत पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड ३३ लाख रूपैयाँ छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७ प्रतिशत बढी हो भने वितरणयोग्य मुनाफा १६२.७९ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ८.९८ प्रतिशतले घटेर ६ अर्ब ३४ करोडमा सिमित भएको छ । खुद फि तथा कमिसन आम्दानी ४६.६७ प्रतिशतले बढेर ६५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा ४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ६.१५ प्रतिशतले बढेको हो ।

बैंकले हालसम्म २ खर्ब ४० अर्ब ७२ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ६७ अर्ब ५१ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य घटेर ३.६२ प्रतिशत पुगेको छ ।

नेपाल बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल बैंकले २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड ४६ लाख रूपैयाँ छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २१ करोडबाट बढेर ४ अर्ब ७१ करोड पुगेको छ । खुद फि तथा कमिसन आम्दानी ५० करोड ५२ लाखबाट बढेर ५९ करोड २६ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २९.७६ प्रतिशतले बढेको हो ।

बैंकले हालसम्म १ खर्ब ५१ अर्ब ६० करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब २७ अर्ब ९२ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य घटेर २.२९ प्रतिशत पुगेको छ ।

कुमारी बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुमारी बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ४६ लाख रूपैयाँ छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ३९.०४ प्रतिशत बढेर ३ अर्ब ८२ करोड पुगेको छ । खुद फि तथा कमिसन आम्दानी ४३.६४ प्रतिशत बढेर ५८ करोड ४ हजार रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ७४.४१ प्रतिशत बढेको हो ।

बैंकले हालसम्म १ खर्ब २७ अर्ब ६९ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब २९ अर्ब ४ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य १.०९ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा एक अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा त्यस्तो नाफा एक अर्ब ९ करोड रुपैयाँ मात्रै थियो । अर्थात सिटिजन्सले चालु आवको ९ महिने अवधीमा आफ्नो नाफा ४१.६१ प्रतिशतले बढाउन सफल भएको देखिन्छ ।

बैंकको वितरणयोग्य नाफा एक अर्ब ३६ करोड रुपैयाँ रहेको छ । चैत मसान्त अवधीसम्ममा बैंकले एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

११ अर्ब ६६ करोड चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा पाँच अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २०.७२ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १४६.८७ रुपैयाँ छ ।

सिभिल बैंक

सिभिल बैंकले ९ महिनामा आफ्नो नाफा आधा अर्ब नघाएर ५० करोड २५ लाख रुपैयाँ पुर्याएको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्त अवधीमा आफ्नो नाफा ३९.३९ प्रतिशतले बढाउन सफल भएको हो । बैंकको वितरणयोग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँबाट बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

बैंकले चैत मसान्त अवधीमा ८७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ६१.९६ प्रतिशतले बढी हो भने भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढी हो । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल बङ्गलादेश बैंक​ 

नेपाल बङ्गलादेश बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले गत वर्षभन्दा यस वर्ष ६३ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. १ अर्ब ५० लाख १० हजार खुद नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ६३ करोड ८४ लाख ९ हजार यो नाफा गरेको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ९८ करोड ३२ लाख २९ हजार रहेको छ । गत वर्ष यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. २ करोड ८० लाख १५ हजार थियो । 

बैंकको सञ्चालन मुनाफा भने गत वर्षभन्दा ५६ दशमलव ४१ प्रतिशत बढी रू. २ अर्ब २८ करोड ८५ लाख ३५ हजार रहेको छ । ६ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९ अर्ब ४८ लाख २१ हजार पुर्याएको बैंकको जगेडा कोष रकम भने गत वर्षभन्दा २८ दशमलव १२ प्रतिशत बढी रू. ५ अर्ब ८९ करोड ४७ लाख ८२ हजार कायम भएको छ ।

गत वर्षभन्दा १० दशमलव ३२ प्रतिशत बढी रू. ७३ अर्ब २९ करोड १० लाख ५६ हजार निक्षेप संकलन गरेको बैंकले १२ दशमलव १२ प्रतिशत बढी रू. ६६ अर्ब २७ करोड १८ लाख ८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम २ दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ९१ प्रतिशतमा सिमित भएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. २४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ७६ रहेको छ । 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. २ अर्ब ६ करोड ५२ लाख ३८ हजार खुद नाफा गरेको छ । बैशाख १४ गते सार्वजनिक बैंकको उक्त अवधिको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत वर्षभन्दा यस वर्ष ५४ प्रतिशत बढी  भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ३३ करोड ९९ लाख ८३ हजार यो नाफा गरेको थियो । 

यस वर्ष सञ्चालन नाफा ५० दशमलव ७५ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ अर्ब ९७ करोड ९३ लाख ५३ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. २ अर्ब ९८ करोड ३९ लाख ४४ हजार रहेको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ८३ करोड १४ लाख ४९ हजार छ । गत वर्षसम्म बैंकको वितरणयोग्य नाफा रू. १५ करोड ३२ लाख १० हजार ऋणात्मक थियो । यस वर्ष भने सुधारिएको छ ।

यस वर्ष १२ प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्तापूँजी रू. १० अर्ब ९६ करोड २२ लाख ९९ हजार पुर्याएको छ । जगेडा कोष रकम पनि ४४ दशमलव २५ प्रतिशत बढी रू. ८ अर्ब ९७ करोड ७२ लाख २२ हजार कायम भएको छ । गत वर्षभन्दा २३ दशमलव ४२ प्रतिशत बढी रू. १ खर्ब ७२ अर्ब ३१ करोडभन्दा बढी निक्षेप संकलन गरेको बैंकले २३ दशमलव ८६ प्रतिशत बढी रू. १ खर्ब ५३ अर्ब ५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा २ दशमलव २४ प्रतिशतदेखि घटेर शून्य दशमलव ८८ प्रतिशतमा सिमिति भएको छ । यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. २५ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. १८१ दशमलव ८९ रहेको छ । 

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले मंगलवार चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस वर्ष बैंकले रू. १ अर्ब ५० करोड ७४ लाख ४६ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यस अवधिसम्म रू. ९४ करोड ३६ लाख ६१ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ३५ दशमलव ९३ प्रतिशत कम भएको हो । यस वर्ष खुद ब्याज आम्दानी सँगै आम्दानीका सबै सूचकहरु घट्दा बैंकको नाफामा कमि आएको हो । यस वर्ष बैंकले गत वर्षभन्दा ३५ दशमलव २५ प्रतिशत कम रू. २ अर्ब ८१ करोड ४३ लाख ४७ हजार खुद ब्याज आम्दानी र ३५ दशमलव ९३ प्रतिशतनै कम रू. २ अर्ब १५ करोड ३४ लाख २२ हजार सञ्चालन मुनाफा गरेको छ । 

तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा भने रू. १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रहेको छ । गत वर्ष यो अवधिसम्म यो रकम रू. ९४ करोड ३६ लाख ६१ हजार थियो । खुद नाफामा कमि आएपनि बैंकको वितरणयोग्य नाफा भने बढेको छ ।  

५ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढेर रू. ८ अर्ब ९३ करोड ३७ लाख १७ हजार पुगेको छ भने जगेडा कोष रकम १९ प्रतिशत बढी रू. १२ अर्ब ७ करोड ७ लाख ४८ हजार कायम भएको छ । गत वर्षभन्दा ८ दशमलव ४४ प्रतिशत बढी रू. १ खर्ब ५५ अर्ब ६५ करोड ५६ लाख ९३ हजार निक्षेप संकलन गरेको बैंकले ७ दशमलव २८ प्रतिशत बढी रू. १ खर्ब २० अर्ब ३७ करोड ५५ लाख ३८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव १२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव १२ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी रू. २२ दशमलव ५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २३५ दशमलव ७२ रहेको छ ।

माछापुच्छ्रे बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले रू. १ अर्र्ब २९ करोड ६ लाख १२ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. १ अर्ब १६ करोड ६८ लाख ५५ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १० दशमलव ६० प्रतिशत बढेको हो । सञ्चालन मुनाफा ९ दशमलव २४ प्रतिशत बढी रू. १ अर्ब ९४ करोड ४७ लाख २३ हजार भएको छ । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा रू. ८४ करोड ६९ लाख ९ हजार छ ।

७ दशमलव ०३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू.९ अर्ब ५ करोड ३० लाख ९४ पुगेको बैंकको जगेडा तथा अन्य कोष रू. ३ अर्ब ५६ करोड १८ लाख ७ हजार छ । बैंकले यस वर्ष गत वर्षभन्दा २० दशमलव ५५ प्रतिशत बढी रू. १ खर्ब २५ अर्ब ४९ करोड ८३ लाख ११ हजार निक्षेप संकलन गरेको छ भने २१ दशमलव ६६ प्रतिशत बढी रू. १ खर्ब १२ अर्ब ५७ करोड ४९ लाख ९६ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव ४५ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष शून्य दशमलव ५१ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव ३ रहेको छ ।

हिमालयन बैंक

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडले रू. १ अर्ब २८ करोड ७१ लाख ५७ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म बैंकको यो नाफा रू. २ अर्ब ३१ करोड ७१ लाख १३ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४४ प्रतिशत कम भएको हो । 

यस वर्ष बैंकको सञ्चालन नाफा ३९ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ३ अर्ब ८ करोड ६४ लाख २६ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ८८ करोड १ लाख ७१ हजार मात्र यो नाफा गरेको छ । तेस्रो त्रैमाससम्म बैंकको  वितरणयोग्य नाफा रू. ८४ करोड ७६ लाख ६६ हजार छ । 

१४ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढेर रू. १० अर्ब ६८ करोड ४४ लाख पुगेको बैंकको जगेडा कोष रकम रू. ७ अर्ब ६७ करोड २६ लाख ३९ हजार रहेको  छ । बैंकले यस वर्ष साढे ५ प्रतिशत बृद्धि गरी रू. १ खर्ब ३२ अर्ब २४ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने साढे १९ प्रतिशत बृद्धि गरी रू. १ खर्ब २१ अर्ब ५६ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष बैंकको निष्क्रिय कर्जा भने शून्य दशमलव ८१ प्रतिशतमा झरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको निष्क्रिय कर्जा १ दशमलव ११ प्रतिशत थियो । यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. १६ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव ८१ रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!