माथिल्लो दोर्दी ‘ए’ जेठ अन्तिममा सकिने

Posted on: 28 Apr, 2021

वैशाख १५, लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ ।

दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको जेठको अन्तिम सातासम्म निर्माणकार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताउनुभयो । 

यही हप्ताभित्र टनेलमा पानी हाल्ने तयारी भइरहेको छ ।  आयोजनाको पावर हाउसमा मेशिनको काम गर्नलाई भारतबाट इन्जिनियर ल्याउने प्रक्रियामा रहेको उहाँको भनाइ छ । यस आयोजनाले यसअघि गत चैत महिनासम्म निर्माणकार्य सम्पन्न गर्दै विजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । कोभिडका कारणले आयोजनामा प्रभाव पारेकाले निर्माणकार्यमा ढिलाइ भइरहेको साथै जिल्लामा १२० केभी प्रसारण लाईनको निर्माण कार्य सम्पन्न भइनसकेकाले समेत विद्युत उत्पादनमा ढिलाइ हुनपुगेको आयोजना प्रवद्र्धक वस्तीको भनाइ छ । 

आयोजना रु तीन अर्व ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य थियो । तर निर्माण अवधि लम्बिँदै जाँदा रु चार अर्ब ६४ करोड खर्च हुने अनुमान गरिएको आयोजनाको भनाइ छ । उक्त अवधिमा पनि अझै कोभिडको प्रभाव भएर समय थप भएमा आयोजनाको लागत बढ्न सक्ने आयोजना प्रवद्र्धक वस्तीले बताउनुभयो ।  

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच भएको सम्झौताअनुसार सुक्खा याममा रु आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गरिने छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!