आजदेखि नेपाल बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र विक्री खुला, ब्याजदर कति ?

Posted on: 05 May, 2021

वैशाख २२, काठमाडौं । नेपाल बैंक लिमिटेडको ऋणपत्र बैशाख २२ गते (आज) देखि सार्वजनिक निष्काशन हुँदैछ । कम्पनीले ‘८ दशमलव ५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ नामको १० वर्षे अवधिको ऋणपत्र विक्री गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।

सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो ।

ऋणपत्र खरीदका लागि छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिन सकिनेछ । उक्त ऋणपत्र ढिलोमा जेठ ५ गतेसम्म सार्वजनिक निष्काशनमा रहने बैंकले जनाएको छ । ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिंगल ए ग्रेडिङ प्रदान गरेको छ ।

लगानीकर्ताले विक्री प्रबन्धक, सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!