सुनकोशीको बेलिब्रिज हटाउने कार्य शुरु

Posted on: 29 May, 2021

जेठ १५, उदयपुर | यहाँको रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा छ महिनाअघि जडान गरिएको बेलिब्रिज खोल्ने कार्य औपचारिक रुपमा शुरु गरिएको छ ।

गाईघाट–दिक्तेल सडक कार्यालयका अनुसार बर्खायाम लागेसँगै सुनकोशी नदीमा पानीको बहाव बढ्दै गएका कारण बेलिब्रिज बगाउने खतरा भएकाले खोल्ने कार्य शुरु गरिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताउनुभयो ।

उक्त बेलब्रिज खोल्नका लागि रेग्मी रौता रुक्मीणी कन्सट्रक्शन कम्पनी प्रालिले यसअघि बेलिब्रिज जडान गर्ने र अहिले बेलिब्रिज खोल्न जिम्मा लिएर काम शुरु गरेको गाईघाट दिक्तेल सडक कार्यालयले जनाएको छ । अब सुनकोशीमा बेलिब्रिज खोलिएपछि गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुरदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सिधै सञ्चालन हुने यातायातका साधन छ महिनाका लागि बन्द हुने भएका छन् । 

अहिलेसम्म पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण हुन नसक्दा वर्षेनि हिउँदमा बेलिब्रिज जडान गरेर छ महिना गाईघाट–दिक्तेल खण्डमा यातायातका साधन पुनः सञ्चालन हुँदै आएका छन् भने बेलिब्रिज खोलेपछि वर्षायाममा छ महिना यातायात पुनः बन्द हुँदै आएको हिमाली यातायात व्यवसायी सङ्घका संयोजक परमेश्वर घिमिरेले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!