श्रम मन्त्रालयको बजेट १४ अर्व: के के छन् बजेटमा समेटिएका कार्यक्रम ?

Posted on: 29 May, 2021

जेठ १५ , काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०७८/७९) का लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १४ अर्व बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी गराएका हुन् । 

के के छन् कार्यक्रम ? 

योगदानकर्ताले २०७८ जेठ र असारमा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने योगदान रकम सरकारले जम्मा गरिदिने भएको छ । गत वर्ष सरकारले चार महिनाको रकम सरकारले जम्मा गरिदिएको थियो । कोभिड-१९ को समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदाताहरुलाई राहत उपलव्ध गराउने नीति अनुसार सरकारले यस्तो व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जनाएका छन् । हालसम्म समाजिक सुरक्षा कोषमा १३ हजार ८ सय ८७ रोजगारदाता मार्फत २ लाख ४ हजार ९६८ योगदानकर्ता सहभागी भएका छन् । 

यसैगरी आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको दायरालाई विस्तार गर्दै स्वरोजगार, करार र ज्यालादारीमा कार्यरत श्रमिकलाई पनि सहभागि गराउने बजेट मार्फत सरकारले घोषणा गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गर्दै आगामी आर्थिक वर्ष २ लाख व्यक्तिलाई रोजगारी सिर्जना गर्ने बजेटले व्यवस्था गरेको छ । न्यूनतम १ सय दिनको रोजगारी सिर्जना गर्न १२ अर्व रकम बजेट विनियोजन गरिएको छ ।

यसैगरी विदेशबाट फर्केकाहरु तथा स्वदेशमा नै रोजगारी गुमाएकाहरुलाई विभिन्न स्वरोजगमूलक कार्यमा संलग्न हुन सीप विकासका लागि पनि ४० करोड रकम बजेटमा व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए । स्वदेशी उद्योगमा सीप सिक्न चाहनेहरुका लागि ३ महिनाको रकम सरकारले व्यहोरिदिने भएको छ । त्यसरी सीप सिकेकाहरुलाई सम्वन्धित उद्योगले दुई वर्ष रोजगारी उपलव्ध गराउनु पर्नेछ । यसले थप २५ हजार व्यक्तिले रोजगारी प्राप्त गर्ने अपेक्षा सरकारले गरेको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतपूर्ण ऋण लिने कार्यक्रमलाई यसवर्ष पनि सरकारले निरन्तरता दिने भएको छ भनें श्रम अडिटलाई प्रभावकारी बनाइने अर्थमन्त्री पौडेलले जानकारी दिए । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर लिइने ऋणमा बैंकले लिने व्याजमा सरकारले ५ प्रतिशत व्याज अनुदान उपलव्ध गराउँदै आएको छ ।

औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकहरुको सामुहिक दुर्घटना वीमालाई नि:शुल्क बनाइने तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरुको अनिवार्य दुर्घटना वीमाको व्यवस्था गरिने बजेटमा व्यवस्था गरिएको छ । घरेलु उद्योगलाई प्रोत्साहित गर्न सरकारले थप कार्यक्रम ल्याएको अर्थमन्त्री पौडेलले बताए ।

यसैगरी सरकारले आगामी आर्थिक वर्षदेखि सर्वकालिक सामाजिक सुरक्षा अन्तर्गत दिईंदै आएको रकममा ३३ प्रतिशत वृद्दि गरेको छ । सो अनुसार हाल ज्येष्ठ नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार पुग्ने भएको छ । हाल सो रकम मासिक ३ हजार रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!