टानद्वारा ‘फुड बैँक’ स्थापना

Posted on: 29 May, 2021

जेठ १५, काठमाडौं। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले पर्यटन क्षेत्रका मजदूरलाई लक्षित गरेर ‘फुड बैँक’ स्थापना गरेको छ । निषेधाज्ञा जारी भएपछि समस्यामा परेका पर्यटन मजदूरलाई सहयोग पुर्याउने उद्देश्यले सो सस्थाले आफ्नो ४३ औँ स्थापना दिवसको अवसर पारेर आजदेखि ‘फुड बैँक’ सञ्चालनमा ल्याएको  हो । 

टानका अध्यक्ष खुमबहादुर सुवेदीले फुड बैँकले कोरोनाले समस्यामा पारेको पर्यटन क्षेत्रका श्रमिकको  दैनिकीलाई सहज बनाउने बताउनु भयो । “कोरोनाले पर्यटन क्षेत्रलाई नराम्रोसँग असर पारेसँगै यस क्षेत्रमा काम गर्ने मजदुरको अवस्था दयनीय बनेको अवस्थालाई मध्यनजर गर्दै फुड बैँकको शुरुआत गरेका हौँ,”– उहाँले भन्नुभयो । फुड बैँकमा हालसम्म झण्डै तीन लाख रकम सङ्कलन भइसकेको अध्यक्ष सुवेदीको भनाई छ । 

टानले फुड बैँकलाई प्रभावकारीताका साथ अगाडि बढाउनका लागि प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय उपसमिति समेत गठन गरेको छ । ट्रेकिङ कम्पनीको सिफारिसमा खाद्यान्न सामाग्री र अति आवश्यक सामग्री हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । टानमा देशभरका दुई हजारभन्दा बढी ट्रेकिङ कम्पनी आवद्ध छन् । 

कोरोनाबाट थलिएको पर्यटन क्षेत्रमा काम गर्न मजदूरलाई यस क्षेत्रबाट पलायन हुन नदिन यस अभियानले सहयोग पुग्ने विश्वास टानले लिएको छ । अध्यक्ष सुवेदीले टानले अगाडी सारेको फुड बैँकमा सम्पूर्ण व्यवसायी तथा पर्यटन क्षेत्रका व्यक्तिले सक्दो सहयोग गर्न आह्वान समेत गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!