चितवनमा महिला उद्यमी बढे

Posted on: 01 Aug, 2021

साउन १७, चितवन (रासस) । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या एक हजार १५२ छ ।

गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेदारीसमेत हुने भएकाले उद्योगको तुलनामा उद्यमीको सङ्ख्या धेरै हुने गर्दछ । कार्यालयका लेखा अधिकृत नारायण लम्सालका अनुसार थपिएका उद्योगमा महिला र पुरुष गरी सात हजार ६५७ जनाले रोजगारी पाएका छन् । पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट थप सहुलियत उपलब्ध हुने भएकाले महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढी भएको उहाँको भनाइ छ ।

कार्यालयका प्रमुख यादवनाथ आचार्यले पहिले उद्योग दर्तामा महिलालाई ५० प्रतिशत छुट हुने भए पनि हाल यो नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकार र पालिकाले महिलाका उद्योगलाई प्राथमिकता दिने भएसँगै उद्यमी बढेका हुन् ।”  

उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पोडेलले उद्योग दर्ता सहुलियत ऋण र अनुदानका लागि धेरै दर्ता भएको बताउनुभयो । महिलाका नाममा दर्ता गरिएका २० प्रतिशत उद्योग पनि सञ्चालन नभएको जनाउँदै उहाँले अनुदानका लागि धेरै उद्योग दर्ता भएका बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र बैंकको कडाइपछि बैंकलाई लक्ष्य हाँसिल गर्नु छ, व्यक्तिलाई सस्तो ब्याजमा पैसा चाहिएको छ ।” उद्योग दर्ता गरेर लिइएको अनुदान सम्बन्धित क्षेत्रमा लगानी गर्न उहाँले सुझाव दिनुभयो ।   

कार्यालयमा हाल रु पाँच लाखदेखि रु पाँच करोड पूँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । रु पाँच लाखभन्दा तल पूँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछन् । जिल्लामा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । कालिका नगरपालिकामा औद्योगिक क्षेत्रसमेत बनाइँदै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!