असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने, एक व्यक्तिले कति साट्न पाइन्छ ?

Posted on: 13 Sep, 2021

भदौ २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।  असोज  ४ गतेदेखि राष्ट्र बैंक बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको उनले बताए । कमर्सियल बैंकहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको नेपालले बताए ।

कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ । रु.५,रु.१०,रु.२०,रु.५० र रु.१०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा बैंकले प्रदान गर्ने नेपालले जानकारी दिए ।

‘क’ वर्गका बैंकहरु, केही विकास बैंक र फाइनान्स कम्पनीहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!